८ बैशाख २०८१, शनिबार

प्रेमीकोसंलग्नता श्रीमतीले नै औषधि व्यवसायी दुलालको हत्या गरेको खुलासा

Devi prasad dulal

विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आइतबार भएको शंकास्पद मृत्यु अन्ततः हत्यामा परिणत भएको छ ।

औषधि व्यवसायी दुलालको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा हत्या भएको थियो ।

विराटनगरमा औषधि व्यवसाय गर्दै आएका उनको हत्यामा श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको खुलेको हो ।

दुलालको हत्यामा श्रीमतीकै हात रहेको निष्कर्ष अनुसन्धानमा खटिएको प्रहरीले निकालेको छ । शव भेटिएपछि अनुसन्धान शुरु गरेको प्रहरीले दुलालको हत्या श्रीमती मीना श्रेष्ठकै योजनामा भएको पनि निचोड निकालेको छ ।

प्रहरीले दुलालको हत्याकाबारेमा पत्रकार सम्मेलन गर्दै परपुरुषसँगको सम्बन्धमा श्रीमान वाधक बनेपछि योजनावद्ध रुपमा हत्या गरिएको अनुसन्धानबाट देखिएको जानकारी दिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले औषधि व्यवसायीको हत्या नै भएको पुष्टि गर्दै घटनामा संलग्नहरुलाई दुवै जनालाई पक्राउ गरिसकेको जानकारी दिए । उनकाल अनुसार श्रीमतीकै योजनामा घटना भएको देखिन्छ । सुतेका समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीको भनाइ छ । हातमा पञ्जा लगाएर डोरी प्रयोग गर्दै हत्या गरेको खुलेको छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । घाँटी कसेपछि थाहा पाएर उठ्न खोज्दा झ्यालमा ठोक्किएर देवीप्रसादको वायाँ आँखामा चोट समेत लागेको प्रहरीको भनाइ छ ।

दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औषधिको डिलर सञ्चालन गर्दै आएका थिए। ओछ्यानमै बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनसाथ मृत घोषित गर्दै चिकित्सकले मृत्यु अस्वभाविक रहेको जनाएपछि घटनाका बारेमा अनुसन्धान थालिएको एसपी अधिकारीको भनाइ छ । अनुसन्धानबाट घटना हत्या नै हो भन्ने पुष्टि भएको जानकारी उनले दिए ।

दुलालको नाक, हात, घाँटी र वायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव थियो । उनी सुतेको ओछ्यानमा रगत लतपतिएको थियो भने घाँटीमा डोरीले कसेको डाम थियो।

पक्राउ परेका साह दुलालले सञ्चालन गर्ने माँ देव पाथीभरा फर्माका पूर्व कर्मचारी रहेको पनि प्रहरीले जानकारी दिएको छ । साह र आफ्नी श्रीमतीको अबैध सम्बन्धबारेमा दुलालले केही दिनअघि मात्र थाहा पाएका थिए । त्यसपछि उनीहरुबीच विवाद बढेको थियो । श्रीमानसँग विवाद बढेपछि महिलाकै योजनामा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

यसरी गरियो हत्या
शनिबार राति दुलालको घरमा औषधि ववसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । दुई जना राति करिब नौ बजे दुलालको डेराबाट निस्किएका थिए । साथीहरु निस्किएपछि दुलाल छुट्टै ओछ्यानमा सुतेका थिए । श्रीमती मीना र ८ वर्षका छोरा अर्को ओछ्यानमा सुतेका थिए ।

सुतेकै बेला दुलालको हत्या भएको प्रहरीको निचोड छ । प्रहरीले हत्यामा प्रयोग भएको डोरी दुलालको घर नजिकै झाडीमा भेटिएको छ । उनको घाँटीमा डोरीले बेरेको निलडाम र निधारमा ठूलो चोट छ । निधारको चोट भने प्रतिकार गर्न खोज्दा खाटमा ठोक्किएर लागेको हुनसक्ने प्ररीको भनाइ छ ।

दुलालकी श्रीमती मीनाले भने राति २ः४१ बजेतिर उठेर हेर्दा श्रीमान अचेत अवस्थामा थिए । श्रीमान अचेत भेटिएपछि मीनाले छिमेकी र दुलालका साथीलाई खबर गरेपछि राति करिब ३ बजे एम्बुलेन्समा राखेर गोल्डेन अस्पताल पुर्‍याइएको थियो ।

दुलालको घर सुनसरी खनार हो । तर करिब ६ वर्षयता उनी विराटनगरमा बसेर माँ देवी पाथिभरा फर्मा सञ्चालन गरिरहेका थिए । उनले मीना श्रेष्ठसँग प्रेम विवाह गरेका थिए ।

दुलालको हत्यामा श्रीमतीको संलग्नता !

शनिबार राति औषधि व्यवसायीहरु धनबहादुर काफ्ले, हरिमोहन श्रेष्ठ र मृकत दुलालसहित दुलालकै डेरामा बसेर मदिरा सेवन गरेको खुलेको छ। काफ्ले र श्रेष्ठ राति ९ बजे दुलालको डेराबाट बाहिरिएका थिए।

त्यसका आधारमा प्रहरीले काफ्ले र श्रेष्ठ तथा दुलालकी श्रीमती मीनासँग सोधपुछ गर्दै घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ । घटनामा काफ्ले र श्रेष्ठको भने संलग्नता पाइएन ।

दुई जना त्यहाँबाट निस्किएपछि प्रेमीसँग मिलेर श्रीमतीले राति ११ बजे दुलालको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी नियन्त्रणमा रहेकी मीनाले सुरुमा भने श्रीमानलाई उच्च रक्तचापको समस्या रहेको र त्यही कारणले मृत्यु भएको हुनसक्ने भन्दै ढाँट्ने प्रयास गरेको प्रहरी स्रोतको भनाइ छ ।

श्रीमान र आफू एउटै कोठाको अलग–अलग खाटमा सुतेका बेला घटना भएको उनको दाबी थियो । सुतेको ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै मीनाले नै केही व्यक्तिको सहयोगमा श्रीमानलाई उपचारका लागि भनेर अस्पताल पु¥याएकी थिइन् ।

प्रहरीका अनुसार मीना र उनका प्रेमी ब्रह्मदेवबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । ब्रह्मदेव चार वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे। त्यही क्रममा मीनासँग उनको हिमचिम बढेको चाल पाएर श्रीमान देवीप्रसाद दुलालले ब्रह्मदेवलाई पाँच महिनाअघि कामबाट निकालिदिएको खुलेको प्रहरीका एक अधिकारीले बताए । प्रहरीका अनुसार उनलाई कामबाट निकालेको विषयमा मीनाले श्रीमानसँग विवाद समेत गरेकी थिइन् ।

‘कामबाट निकालिदिएपछि पनि मीना र ब्रह्मदेवबीच फोन र सामाजिक सञ्जालमा निरन्तर सम्पर्क भइरहेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यो कुरा पनि श्रीमानले थाहा पाएर त्यसो नगर्न श्रीमतीलाई सम्झाई–बुझाई गरिरहेको समयमा हत्या गर्ने योजना बनेको पाइयो।’

प्रहरीका अनुसार प्रेममा बाधक बनेको भन्दै मीनाले शुक्रबार प्रेमीसँग सल्लाह गरेर हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यापछि बिरामी भएको देखाउन अस्पताल लगेर घटनालाई स्वभाविक मृत्यु भन्ने बनाउन खोजेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको डोरी र पञ्जा विराटनगर–९ स्थित झाडीमा फेला पारेको छ । हत्यामा संलग्न ब्रह्मदेवलाई प्रहरीले आइतबार साँझ विराटनगरको बरगाछीबाट पक्राउ गरेको थियो । दुलालले आफ्नो औषधि डिलरबाट निकालिदिएपछि उनी बरगाछीको बुढाथोकी फार्मेसीमा काम गर्न थालेको पाइएको छ ।

हत्यामा संलग्न दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दुलाल र मीनाबीच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् ।