१४ बैशाख २०८१, शुक्रबार

‘मैले जेल जीवनमा होस् या एक्लै हुँदा कविता कोर्ने गरेको छु’ : वरिष्ठ नेता पौडेल

ramchandra poudel

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यले पार्टीलाई बलियो बनाउने बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल संस्कृतिक संघले आयोजना गरेको ‘नेपाली कांग्रेस र साहित्य’ विषयक कार्यक्रम बोल्दै उनले आफू भित्र रहेको कविको बारेमा खुलासा गरे । ‘मैले जेल जीवनमा होस् या एक्लै हुँदा कविता कोर्ने गरेको छु । म तनहुँको भएकोले यसै पनि साहित्य प्रेमी नै हुँ’ उनले भने ।

नेपाल सांस्कृतिक संघ र यहाँ रहेका कलाकारहरुले पार्टीलाई बलियो बनाएको तर्क उनले गरे । ‘हामीलाई कलाकारहरुले बलियो बनाएका छन् । यद्दपि हामीले उहाँहरुलाई राम्रोसँग समेट्न सकेका छैनौ । आउँदा दिनमा हामी सांस्कृतिककर्मीको उल्लेख्य उपस्थिति पार्टीमा गराउने छौँ’ नेता पौडेलले भने ।

उनले संघका सभापति तिर्थ थापा, महामन्त्री शिवशंकर प्रसाद रिजाल ‘जोगिन्दर’ लगायतलाई अझै क्रियाशीलता बढाउन आग्रह गर्दै आउँदो चुनावमा सांस्कृतिककर्मीहरुलाई एकजुट भएर पार्टील जिताउने अभियानमा जुट्न आग्रह गरे ।

‘हामीले गरेका कामहरु वा हाम्रो प्रचारमा सांस्कृतिक संघ र यहाँका कलाकारहरु सदैव तत्पर पाएका छौँ । आउँदो चुनावमा तपाइँहरुको सहयोग अझैँ बढी क्रियाशीलताका साथ हुनुपर्छ । हामी तपाइँहरुलाई पार्टीमा सम्मानजनक उपस्थिति गराउने छौँ’ नेता पौडेलले भने ।

कार्यक्रममा नेपाल सांस्कृतिक संघसँग आवद्ध कलाकारहरु , साहित्यकारहरु लगायतको उपस्थिति रहेको थियो । संघका सभापति तिर्थ थापाले आफू लगायत सम्पूर्ण सांस्कृतिककर्मी आउँदो चुनावमा नेपाली कांग्रेसलाई बहुमत जुटाउन क्रियाशील रहेको बताए ।

‘आउँदा दिनमा हाम्रो उपस्थिति , सहभागिता र सहयोगलाई पार्टीले झनै महसुश गर्नेमा विश्वस्त छौँ । हामीले आफ्नो कर्म गर्न छाडेका छैनौ । र , आउँदो निर्वाचन लक्षित कार्यक्रमहरु संघले आउँदा दिनमा अझैँ क्रियाशीलताका साथ् ल्याउने छ’ सभापति थापाले भने ।