१३ बैशाख २०८१, बिहीबार

टिचिङका डाक्टर, नर्स, स्वास्थ्यकर्मीलाई घरबेटीले दुःख दिन थाले, दिनदिनै कोरोना परीक्षणको रिपोर्ट मागेर तनाव दिए

corona test

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा कार्यरत डाक्टर तथा नर्सहरूलाई हिजोआज बेग्लै तनाव छ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कोरोना संक्रमण देखिएपछि अस्पतालका आवासीय चिकित्सक, नर्सलगायत अन्य कर्मचारीलाई घरबेटीले तनाव दिन थालेको गुनासो आएको छ।

अस्पतालमा संक्रमित देखिएपछि अस्पतालका कर्मचारी बसेका घरबेटी कि घरमै बस्न कि अस्पतालमा नै बस्न दवाव दिन थालेका छन्।

काम सकेर कोठा फर्केका डाक्टर तथा नर्सलाई सधैंजसो घरबेटीले गेटमै रोकेर ‘कोरोना परीक्षणको रिपोर्ट देखाऊ, अनि मात्रै ढोका खोल्छु’ भन्छन्।  

पिपिईलगायत स्वास्थ्य सामग्रीको अभाव त छँदैछ, त्यसमाथि घरबेटीले अनावश्यक तनाव दिएपछि वेचैन भएको टिचिङमा कार्यरत एक डाक्टरले बताए।

अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरु र अन्य कर्मचारीलाई उनीहरुका घरबेटीले कोरोना संक्रमण सार्न सक्ने भन्दै शंका गर्न थालेका छन्। कति घरबेटीले त अस्पतालमै बस्न दबाब समेत दिएको अस्पतालका कर्मचारी बताउँछन्।

जेठ १ गते कपिलवस्तुबाट उपचारका लागि आएकी सात वर्षीया बालिकालाई कोरोना पोजिटिभ आएपछि अस्पतालमा त्रास छाएको थियो।

जेठ २ गते एक जना र कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाले शिक्षण अस्पतालमै बच्चा जन्माएको थाहा पाएपछि घरबेटी सशंकित बन्न थालेको उनीहरु बताउँछन्।

टिचिङका आवासीय डाक्टर होस्टेलमा कोठा अभावले कोही अपार्टमेन्ट त कोही कोठा बहालमा लिएर बसेका छन्।

‘टिचिङमा रहेको विरामीमा कोरोना देखियो भन्ने सुनेपछि घरबेटीले हामीलाई तनाव दिन थाले,’ ती डाक्टरले भने, ‘घरबेटीले कोरोना परीक्षण गरेको हो भन्दै दिनदिनै सोध्छन्। रिपोर्ट देखाऊ भन्छन्।’

टिचिङमा उपचारका लागि ल्याइएकी एक ६ वर्षीया बालिका र अर्का एक विरामी भेट्न पुगेका ४६ वर्षीय एक पुरूषमा कोरोना देखिएको थियो। उनीहरूलाई आइसोलेसनमा राखेर उपचार गरिराखिएको छ।

कोरोना देखिएका विरामीको सम्पर्कमा नरहेका आफूहरूलाई घरबेटीले अनावश्यक तनाव दिँदा राम्रोसँग निदाउन नसकेको ती डाक्टरले बताए।

‘हाम्रो त पेशा नै विरामीको उपचार गर्ने हो। सुरक्षित भएर उपचार गरिन्छ,’ उनले भने, ‘हामी कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष संलग्न छैनौं भने पनि घरबेटीले कुरा बुझ्दैनन्।’

दिनरात नभनी उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्नेमा उल्टै घरबेटीले तनाव दिने गरेको उनले बताए।

‘घरबेटीले कोरोना परीक्षण रिपोर्ट मागेर हैरान गरेपछि हाम्रा दुई/तीन जना साथीहरू होस्टलमा बस्ने अरू साथीहरूसँग बस्न थाल्नु भएको छ,’ ती डाक्टरले भने, ‘हाम्रो यो समस्या कसलाई सुनाउने?’

यतिमात्र होइन यो व्यक्ति डाक्टर/नर्स हो भन्ने चिनेकाहरूले पानीका जार डेलिभरीसमेत नगरेको ती डाक्टरले बताए।

‘घरबेटीले कोठामा नआइदिए हुन्थ्योजस्तो गर्ने, पानी डेलिभरी गर्नेले अबदेखि गर्दिनँ भन्छ, हामीलाई अपराधीजस्तो व्यवहार गरियो,’ उनले भने, ‘विरामीको उपचार गर्न दिनरात खटिएकालाई यस्तो व्यवहार गर्ने समाज देखेर दिक्क लाग्छ।’

उनले टिचिङकै दुई सय जनाभन्दा बढी स्वास्थ्यकर्मीले यस्ताखाले समस्या र तनाव झेल्नुपरेको भन्दै सरकारसँग समस्याको समाधान खोज्न आग्रह गरे।

त्रिवि, महाराजगन्ज क्याम्पसको नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा अनुप उप्रेतीले १५ जना आवासिय चिकित्सकलाई घरबेटी यस्तो दबाव दिएको बताए। उनका अनुसार अस्पतालका अन्य कर्मचारीलाई पनि दबाब आइरहेको छ। कर्मचारीहरु ५/७ जनाले घरबेटीबाट दबाब आएको गुनासो गरेका छन्। अस्पतालमा अहिले ३ सय भन्दा बढी आवासिय चिकित्सकहरु छन्। जसमध्ये ६४ जनाले आवास सुविधा पाएका छन्।

उनले क्याम्पस र अस्पताल प्रशासनलाई यस विषयमा पटकपटक जानकारी गराउँदै अस्थायी आवासको व्यवस्था गरिदिन अनुरोध गरेको बताए।

उनले भने, ‘हामीले समस्यामा परेका आवासिय चिकित्सकलाई तत्काल अस्थायी आवासको व्यवस्था गरिदिन अनुरोध गरिरहेका छौं तर डीन निर्देशक लगायतबाट सुनुवाई भएको छैन। हाम्रा साथीहरुलाई ड्युटी आउन जान नै समस्या भयो।’

एमडी,एमएस तहमा अध्ययनरत चिकित्सकहरुलाई आवासको सुविधा दिनुपर्ने व्यवस्था छ। तर महाराजगन्ज क्याम्पसमा ४० चिकित्सकले मात्र आवासको सुविधा पाएका छन्। अन्य आवासीय चिकित्सक अस्पताल वरपरका घरमा भाडामा बस्दै आएका छन्।

टिचिङमा कार्यरत करिब दुई सय डाक्टर/नर्सहरू कोठा बाहलमा लिएर बसेका छन्।

आवासीय चिकित्सकहरुले क्याम्पस हाताभित्र रहेको २ प्रिफ्याब भवनमा तत्कालका लागि घरबेटीबाट समस्यामा परेका आवासिय र अन्य कर्मचारीलाई आवासको व्यवस्था गर्न अनुरोध गरेका छन्।

तर, डीन, क्याम्पस प्रमुखले अस्पताल निर्देशकलाई असहयोग गर्दै त्यस्तो व्यवस्था गर्न अस्वीकार गरेको आरोप चिकित्सकले लगाएका छन्।

‘क्याम्पस प्रशासनले चिकित्सकको आवासको व्यवस्था गर्ने जिम्मा हाम्रो होइन, अस्पतालले काम लगाएपछि व्यवस्थापन गर्ने जिम्मेवारी पनि अस्पतालको हो भनेर जवाफ दियो,’ एक आवासिय चिकित्सकले बताए।

‘घरबेटीले यस्ता तनाव दिन सक्छन् भनेर एक महिनाअघि नै हामीले अस्पतालमा भनेका थियौं। हाम्रो कुरा कसैले सुनेनन्,’ उनले भने, ‘कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई अन्य देशमा पनि यस्तै खाले तनाव दिइएको पाएपछि हामीले ध्यानाकर्षण गरेका थियौं। तर अहिले आफैं यो तनाव झेलिरहेका छौं।’

देशमा कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भइरहेको र अन्यत्रका अस्पतालले विरामीको उपचारलाई प्राथमिकता नदिएकोले पनि टिचिङमा विरामी संख्या बढेको उनले बताए। 

‘कोरोनाकै कारण देखाएर कतिपय अस्पतालले विरामीलाई गेटबाटै फिर्ता पठाइदिएका छन्। जसले टिचिङमा विरामीको संख्या बढ्दो छ। यस्तो बेला हामी विदा लिएर कोठामै बस्न मिल्दैन,’ उनले भने, ‘जतिसक्दो विरामीकै उपचारमा ध्यान दिनुपर्छ।’

स्वास्थ्यकर्मीलाई हौसला दिनु पर्नेमा निरूत्साहित गरिएको भन्दै उनले दु:ख लागेको बताए।

‘भोलि घरबेटी विरामी भए भने पनि उपचार गर्ने त यिनै चिकित्सकहरूले होला नि!, यस्तो गम्भीर विषय घरबेटीले किन नबुझेझैं गर्छन्?,’ उनले प्रश्न गरे।

लकडाउन सुरु भएको केही समयपछि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा कार्यरत २ जना आवासिय चिकित्सक प्रहरीबाट कुटिएका थिए।

अस्पतालभित्र आवासको व्यवस्था भएको भए त्यस्ता समस्या नहँने भन्दै यो समस्या लिएर उनीहरु स्वास्थ्य मन्त्री भानुभक्त ढकालकहाँ समेत पुगेका थिए।

स्वास्थ्यमन्त्री ढकालले २४ घण्टाभित्रै समस्या समाधान गरिदिने आश्वासन दिँदै उनीहरुलाई फर्काएका थिए। तर, आश्वासन दिएको दुई महिना बित्दा समेत समस्याको सुनुवाई हुन सकेको छैन।

‘स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरे हदैसम्मकाे सजाय गरिनेछ’ : गृह मन्त्रालय

गृह मन्त्रालयले सुरक्षा सतर्कताका नाममा अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलगायतमाथि हुने अवाञ्छित क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिलाई हदैसम्मको सजाय गरिने जनाएको छ।

स्वास्थ्यकर्मीहरूलाई घरबाट निकाल्ने, दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानूनविपरीतका कामहरू गर्ने क्रम देखिएको भन्दै गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गृह प्रवक्ता केदारनाथ शर्माले आज विज्ञप्ति जारी गर्दै कुनै पनि अवाञ्छित गतिविधिहरू कुनै पनि निकाय वा व्यक्तिहरूबाट नगर्नुरनगराउन अनुरोध गरेका छन्।

स्थानीय केही व्यक्तिहरूबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेश निषेध गर्ने, आवागमनमा बाधा पुर्‍याउने, घरभाडामा बसिरहेका व्यक्तिहरूलाई विनाकारण निकाल्ने लगायतका अत्यन्त अमानवीय कार्यहरू भइरहेको भन्दै गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

विश्वव्यापी महामारीका विरुद्ध लड्नका लागि सबैले सामूहिक प्रयास गर्नुपर्ने बेला एकआपसमा नै निषेधको बाटो अपनाउनु राम्रो नहुने गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकारको निर्णयले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न सबै प्रमुख जिल्ला अधिकारीहरूलाई मुकरर गरेको र जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानूनबमोजिम सजाय हुने गृह मन्त्रालयले सबैको ध्यानाकर्षण गराएको छ।