१२ बैशाख २०८१, बुधबार

कपिलवस्तुमा क्वारेन्टाइनबाट ४५ जना भागे

quarantine bed

कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् ।

भारतसंग सीमाना जोडिएको कपिलवस्तु जिल्लाको यसोधारा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका ४५ जना भागेर घर गएका छन् । गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेका अनुसार शुक्रबार र शनिबार राति उनीहरु भागेका हुन् ।

भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् ।

शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमाबि सिंहखोरका थप १५ जना समेत क्वारेन्टाइन छोडेर भागेका वडा अध्यक्षले जानकारी दिए ।

यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं ८ मा मात्रै पाँच जनामा संक्रमण भएको छ । हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाउँकै हुन् ।

क्वारेन्टाइनमा बसेका व्यक्ति भागेर घर घर गएपछि स्थानीयमा त्रास बढेको छ । पहिल्यै गाउँ नै शिल गर्नुपर्नेमा खोरिया गाउँको क्वारेन्टाइनका व्यक्ति भागेर पुनः घरमा फर्किनु सुरक्षा निकायको चरम लापरवाही भएको स्थानीयको आरोप छ ।

‘वडा नम्बर ८ को क्वारेन्टाइनमा राखिएका केही व्यक्ति क्वारेन्टाइनबाट भागेको छन्’ यशोधरा गाउँपालिकाका अध्यक्ष गृजेशकुमार पाण्डेयले भने, ‘यसबारे शुक्रबार नै प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएका छौं ।’

दुई दिनसम्म पनि गाउँमा सुरक्षाकर्मी नखटिंदा र गाउँ शील नहुँदा संक्रमण बढ्न सक्ने अध्यक्ष पाण्डेयले चिन्ता व्यक्त गरे । क्वारेन्टाइनबाट भागेकालाई सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणमा लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

वडा नम्बर ८ को भारतसंग सीमा जोडिएको छ । भारतबाट आएका मानिसहरुलाई यहाँको क्वारेन्टाइनमा राखिएको छ ।

अहिलेसम्म कपिलवस्तुमा भेटिएका ३९ जना संक्रमितहरु भारतबाटै आएका हुन् । संक्रमित मध्ये १२ जना यसोधारा गाउँपालिकाका छन् । १२ जनामध्ये पाँच जना वार्ड नम्वर ८ को खोरियाका हुन् ।

मधेश मानवअधिकार गृह कपिलवस्तुका अध्यक्ष रवि ठाकुर क्वारेन्टाइनमा खान र बस्नको समस्या भएपछि मानिस भागेको बताउँछन् ।