१५ बैशाख २०८१, शनिबार

सुत्केरी लिन हिँडेको एम्बुलेन्स कालीगण्डकीमा खस्यो, चालक बेपत्ता

ambulence

मुस्ताङबाट सुत्केरी लिन पोखरा हिँडेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ । एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिए पनि चालक भने बेपत्ता छन् ।

मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आएको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो ।

आइतबार करिब सवा २ बजे एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित कालीगण्डकी नदीमा एम्बुलेन्स खसेको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले जानकारी दिए ।

एम्बुलेन्स चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायक उपरीक्षक डीएसपी कुवँरले जानकारी दिए । एम्बुलेन्सको अवशेष फेला परे पनि चालक सुजन विक भने बेपत्ता छन ।

‘एम्बुलेन्सको केही अवशेष भेटिएको छ । चालक विक कालीगण्डकीमा मुस्ताङ थासाङ गाउँपालिका–४ का हुन् । उनको बेपत्ता चालकको खोजिकार्य जारी छ,’ कुँवरले भने, ‘नेपाल प्रहरी, सेना र शसत्रको टोली खोजी कार्यमा लागिरहेको छ ।’ एम्बुलेन्समा चालकमात्र रहेको कुँवरले जानकारी दिए ।

दुर्घटना कसरी भयो भन्‍ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

कालीगण्डकीमा दुई बालक बेपत्ता

कालीगण्डकी नदीमा डुबेर पाल्पाका दुईजना बालक बेपत्ता भएका छन्।

पाल्पाको रामपुर नगरपालिका वडा नंं १० शिखरडांडाका २ बालक रामपुरको मलौटे घाटबाट बेपत्ता भएका हुन्।

बेपत्ता हुनेहरुमा रामपुर नगरपालिका वडा नंं १० का १० वर्षीय सुनिल भट्टराई र सोही ठाउँका ८ वर्षीय समिर चापागाईं रहेको वडा अध्यक्ष लिलबहादुर गाहाले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय रामपुरले बालकको खोजी कार्यको लागि सो क्षेत्रमा प्रहरी खटाएको जनाएको छ। कालीगण्डकी नदी धमिलो भएकोले खोजी कार्यमा कठिनाई भएको वडा अध्यक्ष गाहाले बताए।

रामपुर नगरपालिका वडा नंं १० शिखरडांडाका ५ जना बालकहरु लकडाउनको समयमा बाख्रा चराउन गण्डकी किनार गएका थिए। दुई जना बालक नदीमा नुहाउने क्रममा वेपत्ता भएपछि सँगै गएका बालकहरु घरमा आई अभिभावकलाई खवर गरेका थिए।