१२ बैशाख २०८१, बुधबार

विवादमा तानिएपछि ‘माग्ने बुढा’ले माफी माग्दै हटाए महादेवको ‘विवादित’ दृश्य

comedy hub

केदार घिमिरे ‘माग्ने बुढा’ ले माफी मागेका छन् ।

घिमिरेको निर्देशनमा रहेको टेलिभिजन कार्यक्रम ‘कमेडी हब’को सार्वजनिक ट्रेलर विवादमा तानिएपछि सम्मिलित दृश्य हटाइएको जानकारी दिदै माफी मागेका छन्। निर्देशक केदार घिमिरेले हिन्दू धर्मावलम्बीलाई अन्जानमा आफूहरुबाट चोट पुगेको गल्ती स्वीकार्दै कमेडी हबमा रहेको महादेवसम्बन्धी दृश्य हटाएको जानकारी गराएका छन् ।

‘एपीवान’मार्फत् प्रसारण हुने कार्यक्रमको आगामी एपिसोडको प्रोमोको एक दृश्य विवादमा आएपछि हटाइएको हो। भगवान् शिवलाई गलत रूपमा प्रयोग गरेको भन्दै आलोचना भएपछि निर्देशक घिमिरेले महादेवको बारेमा गरिएको टिप्पणीप्रति कार्यक्रममा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र भगवान महादेवबारे बनाइएको विषयप्रति आफ्नो त्रुटि भएको भन्दै उनले सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन् ।

सोमवार फेसबुकमार्फत उनले निर्माण टिमको तर्फबाट अन्जानमा गल्ती भएको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘हामीले मिडिया हबमार्फत निर्माण र प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेब महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ’ ।

उनले अगाडि लेखेका छन् ‘अन्जान मै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरु समक्ष हामी क्षमा माग्दछौ ।’ साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरूको सल्लाह र परामर्श बमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैबाट हटाइसकेका छौं’ ।

आइतबार युट्युबमा सार्वजनिक भएको भिडियोमा महादेव बनेका चरित्र र कमेडियन सीता न्यौपानेबीचको संवादमा दर्शकले आपत्ति जनाएका थिए । नयाँ भागको ट्रेलरमा भगवान शिवजी युवतीसँग मस्किएको र टिकटक बनाउने भनेपछि रोमान्टिक बनेको दृश्य थियो । उक्त कार्यक्रमको पछिल्लो ट्रेलरमा महादेवको अवतारमा प्रस्तुत भएका कलाकारको प्रस्तुति अशोभनीय भएको भन्दै दर्शकले विरोध जनाएका थिए ।

नयाँ पुस्ताका कमेडियनको भिड भए पनि कार्यक्रम तुलनात्मक रुपमा नजमेको धेरैको टिप्पणी छ । यो कार्यक्रमलाई मिडिया हबले निर्माण गरेको हो । कमेडी हब बन्द हुने हल्लाबीच पनि कार्यक्रम भने चलिरहेको छ ।

कार्यक्रममा केदारप्रसाद घिमिरेसँगै राजा राजेन्द्र, ‘कमेडी च्याम्पियन सिजन १’ का विजेता हिमेश पन्त, कमेडियनहरू खड्गबहादुर पुन मगर (खबपु), चन्चल मगर, सुबोध गौतम, प्रभात लामा, दिलिप तामाङ (हुर्हुर), बेदना राई, सिता न्यौपाने, जानुका पौड्याल (प्याकुली), राधिका कँडेल, दिपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली (लट्टे), कल्पना खतिवडा, नारिया गिरी, अनिल राई, संगम राई र दिपेश घिमिरेले कमेडी कला प्रस्तुत गरिरहेका छन्।

Capture