८ बैशाख २०८१, शनिबार

पक्राउ पुर्जीप्रति विप्लवको प्रतिक्रियाः सरकारले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी

biplav 69
फाइल फोटो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति पालना नगरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

ललितपुर जिल्ला अदालतले महासचिव चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि नेकपाले विज्ञप्ती निकालेर आफूसँग भएको तीन बुँदे सहमतिको सरकारलाई स्मरण गराएको हो ।

प्रवक्ता विश्वकर्माले निकालेको विज्ञप्तीमा तीन बुँदे सहमतिविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त नरोकिए यसबाट निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्ने उल्लेख छ ।

पार्टी तीन बुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओली र वर्तमान सरकार ३ बुँदे सहमतिप्रति इमान्दार नदेखिएको नेकपाको ठहर छ ।

नेकपाले थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएको पनि जनाएको छ । पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ ।