१२ बैशाख २०८१, बुधबार

धुलिखेलमा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल, सेना समेत परिचालन गरिने

coronavirus

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पोजिटिभ देखिएपछि सिन्धुपाल्चोकस्थित् उनको माइती गाउँ पनि सिल गरिने भएको छ। आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको बैठकले ती महिलाको घर र माइती गाउँ दुवै ठाउँमा सिल गर्ने निर्णय गरेको हो।

समितिको निर्णयअनुसार उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

“स्वास्थ्य परीक्षण गरी नतिजा प्राप्त नभएसम्मको लागि बाह्रविसे नगरपालिका वडा–९ राम्चे तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ (माइती गाउँ)लाई सिल गरी उक्त वडाबाट कोही कसैलाई बाहिर आउन र वडामा पस्न नदिने”, बैठकको निर्णयमा भनिएको छ।

अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको उनले बताए ।

माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो ।

त्यसैगरी, मृतक महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी स्वाव संकलन गरी पीसीआर परीक्षणको लागि पठाउने निर्णय पनि बैठकले गरेको छ। बैठकले बाह्रविसे स्वास्थ्य केन्द्रलाई पनि सिल निर्णय गरेको छ।

ती ठाउँहरू सिल गर्नको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई समेत परिचालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।

शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ ।

महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।

ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।