१३ बैशाख २०८१, बिहीबार

निमित्तको भरमा सप्तरीका अधिकांश स्थानीय तह

saptari

कुनै पनि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुन राजपत्रांकित द्वितीय श्रेणी १०औं तहको उपसचिव हुन अनिवार्य छ । सोही बमोजिम गत फागुन ३ गते राजविराज नगरपालिकामा प्रमुख भएर आएका उपसचिव रेवतीरमण शर्मा चैत १५ गते सरुवा भए ।

त्यसलगत्तै शर्माको ठाउँमा शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । सप्तरीको डाँक्नेश्वरी नगरपालिकाका पशु विकास शाखाका प्रमुख रामकिसुन यादव पछिल्लो सात महिनादेखि प्रमुख प्रशासकीय अधिकृतको कामकाज गर्दैआएका छन् ।

स्वास्थ्य चौकी छाडेर बलानबिहुल गाउँपालिकाका वरिष्ठ अहेव मोहम्मद नसिम राईन पनि दुई आर्थिक वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहेका छन् ।

जबकी राजपत्रांकित तृतीय श्रेणी आठौं तहका कर्मचारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने हो । तर तत्कालिन जिविसका अधिकृत र छैंटौं–सातौं तहका कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृत बनेका छन् ।

यहाँसम्मकी पालिकाको निमित्त प्रमुख प्रशासकीय हुनका लागि कतिपय त अदालतसम्म पुग्ने गरेको छ । कञ्चनरुप नगरपालिकामा तत्कालिन जिविस अधिकृत नवराज खड्काले प्रमुख प्रशासकीय अधिकृतको पद छाड्न नमानेपछि शाखा अधिकृत रेणुका साहले अदालतको सहारा लिनुपर्यो ।

दरबन्दी बमोजिमका प्रमुख प्रशासकीय अधिकृतहरु स्थानीय तहमा नआउँदा निमित्त बन्नकालागि स्वास्थ्यकर्मी, पशु चिकित्सकदेखि सुब्बासम्मका कर्मचारीहरुले यसरी नै तछाडमछाड गरिरहेका छन् ।

जसले गर्दा विकास निर्माणको कामदेखि मुल्यांकन सम्पादनमासमेत त्रुटी भईरहेको छ भन्ने अर्कोतर्फ बेरुजु बढिरहेको छ । सप्तरीका ९ वटा नगरपालिकामध्ये ८ वटामा कम दर्जाकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् भने ९ वटा गाउँपालिकामध्ये अधिकांशमा निमित्तकै हालीमुहाली छ । यसतर्फ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यान पुग्नु जरुरी छ ।