२८ बैशाख २०८१, शुक्रबार

आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति नेता श्रेष्ठकाे आक्रोश व्यक्त

narayan kaji shrestha
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नु भएको छ ।

अन्तरबस्तु र पद्धति दुवै हिसावले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा सत्तारुढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले रोष प्रकट गर्नुभयो ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोलेपनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गर्नुभयो ।

दलहरुमा बैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको भनाइ थियो ।

नेता श्रेष्ठले दलहरुले तत्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको दोहोर्याउनु भयो ।