१६ चैत्र २०८०, शुक्रबार

भारतीय सेनापति नरभानेको अभिव्यक्तिप्रति नेपाली सेनाको जवाफ ‘उपयुक्त समयमा’

Nepali and Indian Army Chief

नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले ‘जानकारी’मा राखेको जनाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय समकक्षी मनोज नरवाणेले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि आफ्नो दाबी गर्दै नेपालमा भइरहेको आन्दोलनप्रति गरेको टिप्पणीबारे उपयुक्त समय र फोरममा आधिकारिक धारणा राख्ने भएका छन्।

नेपाली सेनाले उपयुक्त समयमा नरभानेलाई जवाफ दिने पनि जंगीअड्डा स्रोतले जनाएको छ ।

नरभानेले शुक्रबार एक कार्यक्रममा बोल्दै भारतीय तीर्थयात्रीका लागि खनिएको बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका दाबी गरेका थिए । यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपयुक्त मञ्चमा आधिकारिक धारणा व्यक्त गर्ने भनिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भनेका छन्, ‘आवश्यकता पर्दा नेपाली सेनाको आधिकारिक धारणा प्रधानसेनापतिले विधि सम्मत ढंगबाट उपयुक्त मञ्चमा व्यक्त गर्नुहुनेछ ।’ उपयुक्त मञ्च कुन हो भन्ने बारे भने पाण्डेले खुलाएका छैनन् ।

जनरल नरवाणेले दिल्लीमा आयोजित एक वेबिनारमा शुक्रबार नेपालमा हाल भारतको अतिक्रमणमा रहेका ती क्षेत्र आफ्नो भन्दै भइरहेका आन्दोलन ‘कतैबाट’ सञ्चालित भएको आरोप लगाउँदै चीनतर्फ संकेत गरेका थिए।

यसबारे सैनिक मुख्यालयसँग सम्पर्क गर्दा नेपाली सेनाका प्रवक्ता पाण्डेले भने, ‘यो सम्बन्धमा आवश्यक र उपयुक्त समयमा नेपाली सेनाको आधिकारिक धारणा प्रधानसेनापतिबाट विधिसम्मत फोरममा व्यक्त हुनेछ।’

भारतले नेपाली भूमि अतिक्रमण गरेर दार्चुलामा सडक निर्माण गरेपछि नेपाली आक्रोशित छन् ।

प्रकरणपछि कालापानी नजिक सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ भने नेपाली सेनाले पनि रेकीका लागि एक विशेष टोली दार्चुला पठाएको छ ।