१५ चैत्र २०८०, बिहीबार

भारतीय सेनाप्रमुखले भने- नेपालले अरूकै निर्देशनमा लिपुलेक सडकको विरोध गर्‍यो

Indian Army Chief Narav

भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको दाबी गरेका छन्।

भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरू कसैको निर्देशनमा भएको आरोप लगाएका छन्।

नेपाली भूमिमा भारतले सडक बनाइरहेको विवादपछि भारतीय सेना प्रमुख नरवणेले त्यस्तो दाबी गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। तर नेपाललाई कसले उचालिरहेको छ भन्नेबारे उनले कसैको नाम भने लिएका छैनन्।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) ले गरेको एक कार्यक्रममा बोल्दै प्रधानसेनापति नरवानेले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको दाबी गर्दै नाम नलिइकन नेपालले चीनको निर्देशनमा विरोध गरेको जिकिर गरेका हुन्।

‘वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन्। त्यसबारे त कुनै विवाद नै छैन। हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ। त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाहा छैन’, उनको दाबी छ।

‘यसमा मैले कुनै विरोधाभाष देखेको छैन। नेपाली राजदूतले भनेका छन् कालापानीपूर्वको भू-भाग नेपालको हो, रोड नदीभन्दा पश्चिम छ,’ उनले भनेका छन्,‘त्यही भएर नेपालीहरू केका लागि विरोध गरिरहेका मैले बुझ्न सकेको छैन।’

उनले त्रिपक्षीय जक्सन (नेपाल, भारत र चीनको) कहाँ हुनुपर्छ भन्ने मुद्दा बाँकी रहेको उनको भनाइ छ। ‘त्यसैले नेपालले अरू कसैको निर्देशनमा यो मुद्दा उठाएको हुन सक्छ,’ उनले भनेका छन्।

उनले चीनलाई संकेत गरेको हुन सक्ने अनुमान गरिएको छ। उनले भारतले बनाइरहेको सडकले कसैमाथि हस्तक्षेप वा अन्तरविरोध नभएको दाबी गरेका छन्।

‘मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुको यात्रा समय छोट्याउनका लागि लिपुलेक हुँदै नयाँ सडक बनाउँदा कतै कुनै कुरासँग अन्तरविरोध भएको छैन,’ नरवणेको भनाइ छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले गतसाता उक्त सडकको उदघाटन गरेका थिए।

भारतका लागि नेपाली राजदूतले काली नदीभन्दा पारिको जमिन नेपालको रहेको बताएको र भारतले पनि त्यस क्षेत्रमा कुनै गतिविधि नगरेको भारतीय सेना प्रमुख नरवणेको भनाइ छ।

भारतका रक्षा मन्त्री राजनाथ सिंहले गत साता धार्चुलाबाट मानसरोवर जोड्ने सडकको ट्र्याकको उद्घाटन गरेका थिए।

नेपाली भूमिमा भारतले एक पक्षीय रूपमा सडक बनाएको भन्दै नेपालले कडा आपत्ति जनाएको छ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाई कूटनीतिक नोट दिएको थियो।

भारतीय कदमको विरोधमा जनस्तरमा पनि प्रदर्शन भएका छन्।

यसबारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन्। नेपालका सबै दलले भारतले कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउन कूटनीतिक पहल थाल्नुपर्ने सुझाव दिएका छन्।