६ चैत्र २०८०, मंगलवार

आजबाट सवारी आवागमनमा झन् कडाइ : पासका लागि गृह मन्त्रालयको यस्तो छ ‘सर्कुलर’

ezgif.com webp to jpg 1

कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिदै गएपछि गृहमन्त्रालयले आवतजावतमा कडाई गर्ने निर्णय गरेको छ।

लकडाउनको बेला जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको छ । यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जेठ १ गतेदेखि नै रद्द गरिएको थियो । मन्त्रालयले एक जिल्लादेखि अर्को जिल्लामा अनुमति दिइएका र जिल्लाभित्र आवतजावत गर्न दिइएका ई-पास र अन्य पास रद्ध गर्ने निर्णय गरेको हो। तर वर्तमान लकडाउनको समयमा विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट मन्त्रालयको निर्णयमा केही अस्पष्टता भएको गुनासो आएपछि शुक्रबार विज्ञप्ति जारी गर्दै थप स्पष्ट गराएको छ।

जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको छ । सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयहरुले पनि छुट्टै सूचना जारी गरेर सवारी पास रद्द गरिएको जानकारी दिएका छन् ।

कोरोना संक्रमित व्यक्तिहरु धेरै फेला पर्न थालेपछि लकडाउनलाई कडाइ गर्ने नीतिअनुसार सबै प्रकारका पासहरु रद्द गरिएको गृहमन्त्रालयका केदारनाथ शर्माले बताए । यसअघि गृहमन्त्री, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरुको संयुक्त बैठकमा लकडाउनलाई कडाइ गर्ने निष्कर्ष निकालेको थियो ।

शनिबार बिहानसम्म नेपालमा बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ।

गृहले सवारी पास नलिइकन यात्रा शुरु गर्ने, मालबाहक सवारी साधनमा यात्रा गर्ने, लुकीछिपी स-साना गोरेटो बाटो, वन जंगलबाट यात्रा गर्ने, अति आवश्यक काम नपरी यात्रा गर्नाले यात्रा जोखिमपूर्ण हुनुको साथै कोभिड–१९ को संक्रमणको जोखिम बढ्ने भएकोले त्यसो नगर्नु नगराउनु अनुरोध गरेको छ। गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान कठिन अवस्थामा सकेसम्म यात्रा नगर्ने, अति आवश्यक काम परी यात्रा गर्ने पर्ने भएमा माथि उल्लेखित प्रावधान बमोजिम गन्तव्य स्थलसम्मको सवारी पास लिएर मात्र घरबाट वा आफु रहेको स्थानबाट यात्रा शुरु गरिदिनुहुन सम्पुर्ण नेपाली नागरिकहरूमा गृह मन्त्रालय पुनः हार्दिक अनुरोध गर्दछ।’

यस अगाडि जारी पासलाई रद्द भएपनि अति आवश्यक काम पर्नेहरुलाई सवारी पास आवश्यक परेमा कारणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने व्यवस्था भएको जनाएको छ। गृहले संचारकर्मीहरुको हकमा साविकमा रहेको प्रावधान ‘प्रेस पास प्राप्त संचारकर्मीहरु’ लाई सवारी पास आवश्यक नपर्ने जनाएको छ।

यस्तो छ नयाँ व्यवस्था

Press Release cdeo
  • जिल्ला प्रशासन कार्यालयबाट विगतमा जारी गरिएको एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै प्रकारका सवारी पासहरु मिति २०७७/०२/०१ गतेदेखि र जिल्लाभित्रको लागि जारी गरिएका सवारी पासहरु मिति २०७७/०२/०३ गतेदेखि लागू हुने गरी रद्द गरिएको ।
  • अति आवश्यक काम पर्नेहरुलाई सवारी पास आवश्यक परेमा कारण सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने । काठमाडौं उपत्यकाको हकमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको वेबसाइट daokathmandu.moha.gov.np मा रहेको सूचना हेरी नियामक निकाय तोकिएको हकमा सम्बन्धित नियामक निकायमा सम्पर्क राखी सवारी पास लिन सकिने र नियामक निकाय नतोकिएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने ।
  • संचारकर्मीहरुको हकमा साविकमा रहेको प्रावधान “प्रेस पास प्राप्त संचारकर्मीहरुू लाई सवारी पास आवश्यक नपर्ने भन्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएकोले सोही बमोजिम हुने । संचार गृहले अन्य प्रयोजनको लागि सवारी पास लिएको भए र अव पनि पुनः आवश्यक पर्ने भएमा बुदा नं।२ बमोजिम हुनेरगर्ने ।
  • एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी सवारी पास जारी गर्नुपर्ने अवस्था भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गन्तव्य जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिएर मात्र सवारी पास जारी गर्ने । काठमाण्डौं उपत्यकाको हकमा उपत्यकाको एक जिल्लाबाट जारी भएको पासले उपत्यकाकै अर्को जिल्लामा यात्रा गर्न बाधा पर्ने छैन । काठमाण्डौं उपत्यकाको लागि सवारी पास जारी गर्नुपर्ने भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र सवारी पास जारी गर्ने ।
  • आधिकारिक निकायबाट सवारी पास नलिइकन यात्रा शुरु गर्ने, मालबाहक सवारी साधनमा यात्रा गर्ने, लुकीछिपी स-साना गोरेटो बाटो, वन जंगलबाट यात्रा गर्ने, अति आवश्यक काम नपरी यात्रा गर्नाले यात्रा जोखिमपूर्ण हुनुको साथै कोभिड-१९ को संक्रमणको जोखिम बढ्ने भएकोले त्यसो नगर्नु नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । तसर्थ वर्तमान कठिन अवस्थामा सकेसम्म यात्रा नगर्ने, अति आवश्यक काम परी यात्रा गर्नै पर्ने भएमा माथि उल्लेखित प्रावधान बमोजिम गन्तव्य स्थलसम्मको सवारी पास लिएर मात्र घरबाट वा आफु रहेको स्थानबाट यात्रा शुरु गरिदिनुहुन सम्पुर्ण नेपाली नागरिकहरूमा गृह मन्त्रालय पुनः हार्दिक अनुरोध गर्दछ।

पास चाहिएमा कहाँ सम्पर्क गर्ने ?

जिल्ला प्रशासन कार्यालयले पास आवश्यक भएमा आ-आफ्नो नियामक निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ।

नेपाल सरकारका मन्त्रालय, संघीय संसद, सर्वोच्च अदालत तथा संवैधिक निकायहरूले पासका लागि आफ्नो निकायका सचिवलाई सम्पर्क गर्नुपर्नेछ।

सञ्चारकर्मी तथा मिडिया हाउसहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सम्पर्क गर्नुपर्ने छ। त्यस्तै, बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र लगायतका सेवाका लागि नेपाल राष्ट्र बैंकले र सहकारीहरूलाई भने सहकारी विभागले पास दिने व्यवस्था मिलाएको प्रशासन कार्यालयले जनाएको छ।

तर आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइलाई मात्रै सेवा दिइने छ।

व्यापार तथा वाणिज्यसँग सम्बन्धित कार्यका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र औद्योगिक उत्पादनसम्बन्धी कार्यमा संलग्न निकायहरूले उद्योग विभागमा सम्पर्क गर्नुपर्नेछ।

त्यसैगरी, जलविद्युत आयोजनाले ऊर्जा, जलस्रोत तगा सिँचाइ मन्त्रालयमा, राष्ट्रिय गौरवका आयोजना, पूर्वाधार विकास आयोजनाका कर्मचारीहरूले भने सम्बन्धित मन्त्रालयका सचिवसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

हवाई सेवा प्रदायक कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवलाई सम्पर्क गर्नुपर्ने छ।

त्यस्तै, पाठ्यपुस्तक पसल र ढुवानीका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्थानीयस्तरमा विकास आयोजना अनुगमन गर्ने पदाधिकारीको लागि आ-आफ्नो स्थानीय तहमा सम्पर्क गर्नुपर्ने छ। तर यो सोही स्थानीय तहभित्र मात्र लागू हुने छ।

नियामक निकाय नतोकिएका र भैपरी आउने अत्यावश्यक कार्यको लागि भने प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। यसअघि जारी भएका सम्पूर्ण पास रद्द गरिएको थियो।

notice 2 2
suchana jari
suchana