१३ बैशाख २०८१, बिहीबार

छिन्नभिन्न मधेस केन्द्रीत दलको चुनावी रणनीति के ?

jasapa rajpa

सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणाको तयारी गरिरहेका बेला राजनीतिक दलहरु रणनीति बनाउन थालेका छन् ।

प्रमुख राजनीतिक दलहरु चुनावी गठबन्धन र मोर्चाको गृहकार्यमा जुटिसकेका छन् । तर अघिल्लो निर्वाचनमा राम्रो नतिजा निकाल्न सफल मधेस केन्द्रीत दल अहिले विभाजनको पीडामा छन् । सत्ता गठबन्धनभित्र र बाहिर रहेका मधेस केन्द्रीत दलको चुनावी रणनीति के होला त ?

मधेसमा राम्रो जनमत बटुल्न सफल हुँदै आएको जनता समाजवादी पार्टी तेस्रोपटक विभाजनको डिलमा छ । जसपाबाट अलग भएर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी बनाईसकेका छन् भने बाबुराम भट्टराई पक्ष समेत छुट्टिएर नयाँ पार्टी बनाउने तयारीमा छ ।

यसले तराईको बलियो शक्ति छिन्नभिन्न भएको छ । यस्तो अवस्थामा आगामी चुनावमा उनीहरु कुनै एक प्रमुख दलको साथ लिएर जाने दाउ खोजिरहेका छन् ।

त्यसो त जनता समाजवादी पार्टी अहिले सत्ता गठबन्धनमै छ । उसले आगामी चुनावमा पनि यही गठबन्धनको साथमा चुनावमा जाने तयारीमा छ । त्यति मात्र होइन उसले आफ्नो शक्ति कमजोर नहोस् भनेर मधेस केन्द्रीत दलसँगकै समीकरण बनाउने कसरत पनि गरिरहेको छ ।

त्यसो त अहिले तराइमा पुराना राजनीतिक दलको मात्र प्रभुत्व छैन । पछिल्लो समयमा तराइका मुद्दा उठाउँदै पुराना दललाई चुनौती दिने उद्देश्यसहित नयाँ दल पनि उदाएका छन् । उनीहरु पनि सके मधेस केन्द्रीत र नभए ठुला दलसँग तालमेल गरेर शक्ति आर्जन गर्ने ध्याउन्नमा देखिन्छन् ।

मधेसका मुद्धा उठाएर शक्तिमा आएका दलहरुमा टुटफुटको प्रक्रिया चलिरहँदा प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र थप शक्ति आर्जनको गृहकार्यमा छन् । यति हुँदा पनि मधेस केन्द्रीत दल एक ठाउँमा उभिएर प्रमुख दललाई चुनौति नै दिने सम्भावना देखिँदैन ।