७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिले सच्याइन् सम्बोधन, भनिनन् – ‘मेरो सरकार’

bhandari

संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गत वर्ष गरेको सम्बोधन सच्याएकी छन्।

गतवर्ष संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने पदावलीको प्रयोग गरेकी थिइन् । यस वर्ष भने राष्ट्रपतिले आफ्नो सम्वोधन सच्याएकी छिन् ।

शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपतिले मेरो सरकार भनेकी छैनन्। उनले ‘वर्तमान सरकार’, ‘यो सरकार’ र ‘नेपाल सरकार’ भनेर मात्र सम्बोधन गरेकी छन्।

राष्ट्रपतिले संसदमा वाचन गर्ने सरकारको नीति तथा कार्यक्रम उनले आफूले लेखेको नभएर सरकारले दिएको पुस्तिका पढ्ने हो । यसअर्थमा गत वर्ष उनले ‘मेरो सरकार’ भन्नुमा उनी स्वयं जिम्मेवार नभएर प्रधानमन्त्री केपी शर्मा ओली नै जिम्मेवार थिए ।

गत वर्ष संवैधानिक राष्ट्रपतिले मेरो सरकार भनेको भन्दै प्रमुख प्रतपक्षी दलले विरोध गरेको थियो। त्यस्तै राष्ट्रपतिको शैली राजाको जस्तै भएको भन्दै सार्वजनिक आलोचना भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने राष्ट्रपतिले मेरो सरकार भन्न मिल्ने भनेर उनको प्रतिरक्षा गरेका थिए।

राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा प्रधानमन्त्री ओलीले त्यसको बचाउ गर्दे । विदेशमा पनि मेरो सरकार भन्ने प्रचलन रहेको भन्दै प्रधानमन्त्री ओलीले आलोचकहरुलाई युट्युवहरु हेर्न सुझाएका थिए ।

नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा नेपाल सरकार भनेका थिए। यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी ‘… यस्तो गरिनेछ’ भन्थे। कतिपय ठाउँमा उनले ‘वर्तमान सरकार’ पनि भनेका थिए।

राजतन्त्र कालमा राजाले संसदमा गर्ने सम्बोधनमा सधैं ‘मेरो सरकार’ भन्ने गर्थे।

तर, प्रधानमन्त्री ओलीले यसपालिको नीति तथा कार्यक्रममा गत वर्ष आफैंले वकालत गरेको ‘मेरो सरकार’ पदावली प्रयोग गरेनन् । अन्ततः सरकार ‘मेरो सरकार’ पदावली प्रयोग गर्नु ठीक थिएन भन्ने निश्कर्षमा पुगेको छ ।

गणतन्त्रतात्मक व्यवस्थामा जननिर्वाचित सरकारलाई राजाका पालामा जस्तै ‘मेरो सरकार’ भन्नु शोभनीय नहुने भन्दै गत वर्ष विपक्षी दलले समेत आलोचना गरेको थियो ।