१५ चैत्र २०८०, बिहीबार

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने, आगामी आर्थिक वर्षभित्र फिर्ता ल्याउने सरकारको घोषणा

lipulekh road india2

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’

सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत उनले बताइन् ।

सरकारी अधिकारीहरुका अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

आगामी आर्थिक वर्षभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ।

शुक्रबार संसदमा राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो।

सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल गर्ने जनाएको छ।

भण्डारीले भनिन्, ‘अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक वार्ता अघि बढाउनेछ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। त्यसलाई ठोस पहल गरेर फिर्ता ल्याइनेछ।

नेपाली भूमि अतिक्रमण गरेर भारतले मानसरोवरसम्म पुग्ने बाटो उद्घाटन गरेपछि सरकारले विरोध जनाएको छ।