११ बैशाख २०८१, मंगलवार

भरोसा गरेर अरुको सहारामा बाँच्ने बानीले पार्टीलाई नोक्शान भयो : माधव नेपाल

madhav nepal 1

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहमताका कारण तत्कालीन नेकपा विभाजन भएको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा नेकपा एकीकृत समाजवादीको स्कुल विभागले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपा फुट्नुमा ओली नै जिम्मेवार रहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको दाबी गर्नुभयो । अध्यक्ष नेपालले ओलीले अहंता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको जिकिर गर्नुभयो ।

सर्वोच्चले पहिलाकै अवस्थामा जानु भनेर आदेश आइसकेपछि बाध्य भएर पार्टी निर्माण गर्न बाध्य भएको प्रष्ट पार्नुभयो । २०७५ को जेठ ३ गते बनेको नेकपा २०७५ फागुन २३ गतेको फैसलाले फुटेर नेकपा एमाले र नेकपा माअ‍ोवादी केन्द्र बनेको उहाँले स्मरण गर्नुभयो ।

नेकपा फुटेपछि केपी ओलीले एमालेलाई एकतावद्ध गराउने आशा विपरित फागुन २८ गते एकलौटी बैठक बसेर पार्टीको विधान संशोधन गरिएको उहाँले बताउनुभयो । त्यसपछि नेकपा एमाले कम्युनिष्ट पार्टी नरहेको निष्कर्ष निकालेर आफूहरु बाहिरिएको अध्यक्ष नेपालको भनाइ थियो ।

अध्यक्ष नेपालले गठबन्धको भरमा पर्दा स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको ठोकुवा गर्नुभयो । उहाँले गठबन्धनको भरोसा बढी गरेर अरुको सहारामा बाँच्ने बानीले पार्टीलाई नोक्शान पुर्‍याएको बताउनुभयो ।

आफ्नै तयारीमा स्थानीय तहको निर्वाचन लडेको भए धेरै ठाउँमा चुनाव जित्ने उहाँको दाबी थियो । अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको सिट बढ्ने दाबीसमेत गर्नुभयो । त्यसका लागि आवश्यक तयारीमा जुट्न निर्देशन दिनुभयो ।