१२ बैशाख २०८१, बुधबार

लकडाउन थप्ने सरकारको तयारी

lockdown 20days 9

सरकारले जारी लकडाउन थप्ने तयारी गरेको छ। शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा सो विषयमा छलफल भएको हो।

लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञहरूलाई बोलाइएको थियो। सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएका बैठकमा उपस्थित एक मन्त्रीले बताए।

‘अहिलेको अवस्थामा महामारी बढ्ने क्रम जारीनै रहेको बेला लकडाउन थप गर्न सबैले सुझाव दिएका छन्’,ती मन्त्रीले भने।

ती सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल गरिने र मन्त्रिपरिषद् बैठकमा पेश गरिने ती मन्त्रीले बताए।

सरकारले जारी गरेको लकडाउन जेठ ५ गते सकिँदै छ।

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए ।

जारी लकडाउनको समीक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने तयारी गरेको उनले बताए ।

त्यसैगरी समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लक डाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय पनि गररेको छ ।

सचिव विडारीले लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताए । चार्टड फ्लाइटको खर्च कसले व्यहोर्ने भन्ने विषयमा उनले स्पष्ट खुलाएनन् ।

समितिले शुक्रबार स्वास्थ्यक्षेत्रका विभिन्न विज्ञहरुसँग छलफल पनि गरेको छ ।

अहिलेको अवस्था र लकडाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको हो ।

छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।

आत्तिनुपर्ने अवस्थामा नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताए ।

चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् ।

विज्ञहरुका सुझावहरुमा पुनः छलफल गरी समितिले निर्णय गर्नेछ ।