८ बैशाख २०८१, शनिबार

प्रमाण भेट्नै मुस्किल बजेटमा अनधिकृत व्यक्तिको संलग्नता छानबिन गर्न गठित समितिलाई

samiti

बजेटमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित संसदीय विशेष समितिलाई प्रमाण भेट्नै मुस्किल परेको छ ।

काम थालेको साता दिन बित्दा पनि सीसीटीभी फुटेज नभेटेपछि समितिले अर्थ मन्त्रालयको जेठ १३ र १४ गतेको डिलिट भएको सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सिक ल्याबमा पठाउने भएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभरको विषयमा नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको थियो ।

समितिका सचिव सुरेन्द्र अर्यालले समितिको बैठकमा विज्ञहरुले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हुने भए पनि रिकभर गर्ने अथोरिटी सफ्ट्वेयर आवश्यक हुने भएकाले सीसीटीभीको हार्डडिक्सको अवस्थामा भरपर्ने बताउनुभयो ।

समितिले आज बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको समाचार लेख्ने अन्नपूर्ण पोष्ट र कान्तिपुर दैनिकका सम्पादकसँग छलफल गर्दैछ । उनीहरूसँगको छलफल सकेलगत्तै आजै निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग पनि सोधपुछ गर्ने तयारी गरेको छ ।