८ बैशाख २०८१, शनिबार

परीक्षण नगराउनेको संख्या धेरै देखिएकाले भित्रभित्रै कोभिड संक्रमण फैलिरहेको हुनसक्ने अनुमान !

corona virus graph

नेपालमा कोभिडका सक्रिय संक्रमितको संख्या १९ सय ८२ पुगेको छ । अस्पताल भर्ना हुने दर पनि बढ्दै जाँदा आइसीयूमा कोभिडका १९ जना बिरामी उपचार गराइरहेका छन् । संक्रमण दर १० प्रतिशत नाघेको छ । परीक्षण नगराउनेको संख्या अझै धेरै रहेको हुनसक्ने अनुमान चिकित्सकको छ ।

मंगलबार १८ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २ सय ६८ अर्थात १४ दशमलव ४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । सवैभन्दा बढी काठमाडौंमा १ सय १९, ललितपुरमा ३० र मोरङमा २३ जनामा संक्रमण देखिएको छ ।

चौथो लहर सुरु भएसँगै यी जिल्लामा संक्रमण बढि देखिँदै आएको छ । तर यो क्रम विस्तारै अरु जिल्लामा पनि पुगेको छ । सोमबार कास्कीमा ९ जनामा संक्रमण देखिएकोमा मंगलबार २१ जनामा संक्रमण पुष्टि भएको छ । कतिपय बिरामी अझै परीक्षणको दायरामा आउन सकेका छैनन् ।

अहिले दैनिक जति संक्रमित देखिएका छन् त्योभन्दा बढी नै संक्रमित भइरहेको हुन सक्ने आशंका चिकित्सकहरुको छ । लक्षण भएर पनि परीक्षण नगराउनेको संख्या धेरै देखिएकाले भित्रभित्रै संक्रमण फैलिरहेको हुनसक्ने उनीहरु बताउँछन् । यो अवस्थामा जोखिमपूर्ण ठाउँको पहिचान गरी परीक्षणको दायरा तत्काल बढाउनु देखिएको छ ।

कोरोना संक्रमणको ग्राफ उकालो लागिरहे पनि स्वास्थ्य मापदण्डको पालना प्रभावकारी भएको देखिँदैन । यसले समुदायमै चौथो लहरको संक्रमण फैलिने जोखिम झन् बढाएको छ ।