८ बैशाख २०८१, शनिबार

अठार करोडको रासायनिक मल बिक्री

mal ayo
फाइल फोटो

चरम आभावकै बीच सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रु १८ करोड ३१ लाख ९० हजार मूल्य बराबरको रासायनिक मलखाद्य बिक्री गरेको छ ।

यस आर्थिक वर्षमा रु १० करोड ५१ लाख तीन हजार १९४ को डिएपी र रु सात करोड ८० लाख ८६ हजार ८६० को युरिया गरी रु १८ करोड ३१ लाख ९० हजार ५४ मूल्य बराबरको रासायनिक मलखाद्य बिक्री गरेको सो कार्यालयले जनाएको छ ।

आव २०७८/७९ मा छ हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मलको वार्षिक लक्ष्य रहेकामा चार हजार ९५४ मेट्रिक टन युरिया र दुई हजार ३५५ मेट्रिक टन डिएपी मात्र आपूर्ति भएको कार्यालय प्रमुख दीपराज पौडेलले जानकारी दिनुभयो । जसमध्ये सो आवमा युरिया चार हजार ९५४ मेट्रिक टन र डिएपी दुई हजार ३४८ मेट्रिक टन मल बिक्री भएको प्रमुख पौडेलले बताउनुभयो ।

यसअघि गत आव २०७७/७८ मा कृषि सामग्री कम्पनी लहानले रु १९ करोड ६५ लाख ६३ हजार ३१४ मूल्य बराबरको रासायनिक मल बिक्री गरेको थियो । अघिल्लो वर्षको भन्दा आव २०७८/७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएको जनाएको छ । यसरी बर्सेनि रासायनिक मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएकाले समस्या भइरहेको प्रमुख पौडेलको भनाइ छ ।

प्रमुख पौडेलका अनुसार सिरहामा साउनमा मात्र ३० हजार बोरा युरिया मल चाहिएकामा हाल मौज्दात एक बोरा पनि युरिया मल छैन भने त्यति नै मात्रामा डिएपी मल चाहिएकामा छ मेट्रिक टन मात्र मौज्दात छ । मल नहुँदा दैनिक मलका लागि आउने किसान रित्तो हात फर्किन बाध्य रहेको प्रमुख पौडेलले बताउनुभयो ।

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आउने आश्वासन पाएको र आए लगत्तैबाट कोटा निर्धारण गरी स्थानीय तहहरूमा रहेको सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गरिने जनाएको छ । बाली सघनता र खेतीयोग्य क्षेत्रफलका आधारमा स्थानीय तहलाई मलखाद्यको कोटा निर्धारण गरी स्थानीय तहको सिफारिसका आधारमा सहकारी संस्थाका डिलरलाई मलखाद्य वितरण गर्दै आएको प्रमुख पौडेलको कथन छ ।

सिरहामा कृषि सामग्री कम्पनी लहान र साल्टट्रेडिङले गाउँ–गाउँमा सहकारीमार्फत र सहकारी नभएको गाउँमा स्थानीय तहको सिफारिसमा मलखाद्य बिक्री वितरण गर्दै आएको छ । धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमानाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डिएपी मलको अभाव हुने गरेको प्रमुख पौडेलले बताउनुभयो ।

डिएपी र युरिया मलको माग बढेकाले आपूर्तिका लागि केन्द्रमा पटक–पटक पत्राचार गरे पनि बर्सेनि आपूर्ति घट्दै गएकाले समस्यामा परेको प्रमुख पौडेलको भनाइ छ । यसरी डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखाद्यको समस्या भइरहेको नेपाल कृषक महासङ्घ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताउनुभयो । मागअनुसार मलको आपूर्ति नहुँदा बर्सेनि किसानहरू मलका लागि डिलर चहार्ने गरे पनि सहज रूपमा मल पाउने अवस्था नरहेको उहाँको भनाइ छ ।

कुल ६० हजार ७५७ हेक्टर खेतीयोग्य जग्गामध्ये सिरहामा यस वर्ष करिब ५५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र महासेठले बताउनुभयो । यस वर्ष समयमा वर्षा नभएकाले एकातिर धान रोपाइँ कम भएको र अर्कातिर सहज रूपमा मलखाद्य उपलब्ध नहुँदा किसान मारमा परेको प्रमुख महासेठको भनाइ छ ।

    सम्बन्धित समाचार...