१६ चैत्र २०८०, शुक्रबार

लुतो फाल्ने प्रचलन : गाउँमा सीमित, विधिसमेत फेरिँदै

luto saune sankranti

नेपालका प्राचीन संस्कृतिअनुरुप हरेक वर्षको साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । विभिन्न औषधीय गुणयुक्त वनस्पति र फलफूलले राक्षसको पूजा गरेर लुतो फाल्ने परम्परा रहिआएको छ ।

शास्त्रीय मान्यतामा आधारित यो पर्वको वैज्ञानिक महत्व पनि उतिकै रहेको मानिन्छ। तर, पछिल्लो समय यो प्रचलन केही धार्मिकस्थल र गाउँमा सीमित भएको छ भने लुतो फाल्ने विधिसमेत फेरिएको छ ।

नेपालमा परापूर्वकालदेखि हरेक वर्षको साउन १ गते साँझ लुतो फाल्ने प्रचलन छ । साँझको समयमा कण्डारक नामक राक्षसको पूजा गरेर घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँकेर लुतो फाल्ने प्रचलन छ ।

प्राचीन परम्पराअनुसार लुतो फाल्न कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसारो, रातपाते, निबुवा, अम्बा, अनार, नासपतीजस्ता औषधीय गुणयुक्त वनस्पति र फलफूल आवश्यक मानिन्छ ।

यसरी लूतो फाल्दा नाङ्लो ठट्टाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने, ठूलो आवाजमा कराउने र एकछिन घरको ढोका बन्द गर्ने शास्त्रीय मान्यता रहेको संस्कृतविद् बताउँछन् ।

नेपालमा असार महिनालाई धान रोपाइँ गर्ने उपयुक्त समय मानिन्छ । यो महिनाभर किसान हिलोमा खेतीबाली लगाउन व्यस्त रहन्छन् । यसका साथै आजकै दिनबाट सूर्य कर्कटमा बस्ने भएकाले अत्यधिक गर्मी हुने गर्दछ ।

हिलोको काम र अत्यधिक गर्मीका कारण शरीरमा लुतो, दाद आदि चर्मादि रोग आउने गर्दछ । यी रोगबाट मुक्ति पाउन आजका दिन लुतो फाल्ने परम्परा रहिआएको जानकार बताउँछन् ।

लुतो फाल्ने विधि प्राचीन एवम् धार्मिक भए पनि यसको वैज्ञानिक महत्वसमेत रहेको विज्ञको भनाइ छ । लुतो फाल्दा औषधीय गुणयुक्त वनस्पति र फलफूल प्रयोग गर्ने हुँदा यसले मावन स्वास्थ्यमा फाइदा पुग्छ ।

शास्त्रीय र वैज्ञानिक दुवै दृष्टिकोणबाट फलदायी मानिएको लुतो फाल्ने संस्कारमा पछिल्लो समय कमी आएको छ । जसका कारण हिजोआज सीमित गाउँ र धार्मिकस्थलमा मात्रै लुतो फाल्ने परम्परा रहेको छ ।

यस्तै लुतो फाल्ने विधिसमेत पछिल्लो समय परम्परागत विधिभन्दा फरक हुँदै गएको छ । त्यसैले कतिपय यस्ता धार्मिक र वैज्ञानिक महत्वका पर्वहरुलाई संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक छ।

    सम्बन्धित समाचार...