१५ बैशाख २०८१, शनिबार

पराजयपछि पनि एमाले अध्यक्ष ओलीको दम्भ उस्तै !

all party

संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा एमाले एकपछि अर्को गर्दै संघ र प्रदेश सरकारबाट मात्र बहिर्गमन भएन, स्थानीय निर्वाचनमा समेत नराम्रोसँग पराजित भयो । तर पनि उसले आफ्नो व्यवहार परिवर्तन गर्न सकेको छैन ।

तत्कालीन नेकपा जोगाउन नसकेको मात्र होइन पार्टी विभाजनसमेत रोक्न नसकेको आरोप खेपिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि सत्तामै रहेको जस्तो दम्भ देखाइरहेका छन् ।

गठबन्धनलाई थप बलियो बनाएर संघ र प्रदेशसभा निर्वाचनसम्म जाने तयारी भइरहँदा एमालेका लागि नतिजा सुखद नहुने आशंका गरिँदैछ ।

संघ, प्रदेश र स्थानीय तहका सरकार एकपछि अर्को गर्दै गुमाउँदै जाँदा पनि अध्यक्ष ओलीको अभिव्यक्तिमा परिवर्तन आएको छैन । सार्वजनिक मञ्चहरुमा ओलीले सत्तामै रहेको र विजयी हासिल गर्दै गरेको जस्ता दम्भपूर्ण अभिव्यक्ति दिने गरेका छन् ।

अध्यक्ष ओलीमात्र होइन उनीनिकटका नेतासमेत कुरा गर्नबाट थाक्दैनन् । तत्कालीन नेकपा सरकारको बखान गर्न सार्वजनिक मञ्चहरुमा उनीहरु छुटाउँदैनन् ।

नागरिक अगुवाहरु भने पार्टीका लागि एकपछि अर्को संकट थपिँदा पनि ओलीमा गम्भीरता नदेखिनुलाई अलोकप्रियताको रुपमा लिन्छन् ।

सत्तारुढ पाँच दल एमालेलाई एक्लाउँदै आगामी निर्वाचनमा झन् कमजोर बनाउने रणनीतिमा छन् । तर एमाले अध्यक्ष ओलीले आफ्नो पुरानो बानी छाडेका छैनन् ।

ओली विगतका कमी–कमजोरी सच्चाएर अघि बढ्छन् कि दम्भकै शैलीमा भन्नेले पनि उनको आगामी राजनीतिक यात्रा तय हुने देखिँदै गएको छ ।