५ जेष्ठ २०८१, शनिबार

बदलिँदो अन्तर्राष्ट्रिय भूराजनीति र क्षेत्रीय अवस्थालाई ध्यानमा राखेर नेपाल होशियार हुन जरुरी छ !

chines

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ चियान चाओ ४ दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।

उनले भ्रमणका क्रममा नेपाली भूमि चीनविरुद्ध प्रयोग नहुने विषयमा विश्वस्त हुन खोजेको देखिएको छ । नेपालमा बढेको अमेरिकाको सक्रियताप्रति सशंकित हुँदै चीन आफ्नो सुरक्षा चासोमा बढी नै सजक पाइएको छ ।

सीपीसीका विदेश विभाग प्रमुख लिउ चियान चाओ आइतबार नेपाल आइपुगे लगतै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटेर चीनको सुरक्षामा चासो ब्यक्त गरे ।

उनले नेपालका कम्युनिष्ट पार्टी एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग पनि नेपालले अपनाएको एक चीन नीतिबारे पार्टीगत धारणा बुझे ।

यो बीचमा उनले नेपालका कम्युनिष्ट पार्टीको एकताका लागि चीनले विश्वास गर्न सक्ने दलको पहिचान गर्न खोजेको टिप्पणी गर्नेहरु पनि उत्तिकै छन् । तर नेपाली भूमि प्रयोग गरेर चीन विरोधी हुनै गतिविधि नहोस् भन्नेमै उनको भ्रमण केन्द्रित रहेको विज्ञहरुको बुझाइ छ ।

नेपालले विगतमा चीनसँग धेरै सहमति र सम्झौता गरेको पनि ती कार्यान्वयन भएका छैनन् । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँगको सम्झौता रद्द गर्नु, नेपाल-चीन रेलमार्ग, विद्युत् ग्रिड र सुक्खा बन्दरगाह परियोजनामा ठोस प्रगति नहुनुले सरकारको चीन सम्बन्धी नीति बदलिएको आशंका गर्नेहरु पनि छन् ।

त्यसमा पनि चिनियाँ संलग्नता रहेका विकास आयोजनामा भारतले विस्फोटक पदार्थ नदिएको कुराले पनि नेपाल घेराबन्दीमा परेको हो कि भन्ने प्रश्न उब्जिएको छ ।

नेपालले अपनाएको असंलग्न परराष्ट्र नीतिविपरित कुनै शक्ति राष्ट्रको पक्षमा लाग्नु आफ्नै लागि प्रत्युत्पादक हुनेमा नेपालका राजनीतिक दल सहज हुनुपर्ने देखिएको छ ।

बदलिँदो अन्तर्राष्ट्रिय भूराजनीति र क्षेत्रीय अवस्थालाई ध्यानमा राखेर नेपालले स्वतन्त्र र सन्तुलित परराष्ट्रनीति अबलम्बनमा थप होशियार हुन भने जरुरी छ ।