२३ बैशाख २०८१, आईतवार

‘पानी बा’ सातौ पटक नेतृत्व हाक्दै घोराही खानेपानीमा

dalbadhur

दाङको घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा सातौ पटक देवीबहादुर डिसी निर्वाचित भएका छन् । २०६० सालदेखि घोराही खानेपानीको नेतृत्व डिसिसँगै रहदै आएको छ । यो पटक उनीलाई कांग्रेस र माअ‍ोवादीको समर्थन रहेको थियो ।

संस्था २०५३ सालमा स्थापना भएको हो । संस्थाको संस्थापक अध्यक्ष यज्ञबहादुर बुढाथोकी थिए । नव निर्वाचित डिसी २०५३ सालमा सदस्य पदमा रही काम गरेका थिए । २०५७ सालमा मधुसुदन पौडेल अध्यक्ष भएका थिए भने डिसी दोस्रो कार्यकालमा पनि सदस्य रही काम गरेका थिए ।

२०६० सालदेखि डिसीले निरन्तर रूपमा संस्थाको नेतृत्व गर्दै आएका छन । डिसी आम उपभोक्ताका माझ ‘पानी बा’ का नामले परिचित छन् । संस्थामा नयाँ नेतृत्वका लागि मतदान भएको थियो । कुल ७ हजार १ सय २३ मतदाता रहेकोमा ३ हजार ५ सय ६५ मत खसेको थियो ।

डिसीले गठबन्धन प्यानलको नेतृत्व गरेका थिए । डिसीले २२९४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका नारायण भुसालले १०८५ मत प्राप्त गरे ।