४ जेष्ठ २०८१, शुक्रबार

शर्माले पदबाट राजीनामा दिएपनि शंकाको सुइ प्रधानमन्त्री देउवातिरै !

pm sherbahadur deuba
फाइल फोटो

बजेटमा करको दर हेरफेरका विषयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि एक्सन नलिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा आलोचित बन्नुभयो । चौतर्फी विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएपनि शंकाको सुइ प्रधानमन्त्री देउवातिरै सोझिएको छ ।

चौतर्फी दबाबपछि अर्थमन्त्री जनार्दन शर्मा बाहिरिए पनि बजेटमा भएका बदमासीका बाछिटाहरु बिस्तारै देखिन थालेका छन् । अनधिकृत व्यक्तिलाई बजेट बनाउने प्रक्रियामा सहभागी गराएपछि छानबिनका लागि संसदीय विशेष समिति नै गठन भएको छ । यस्तो बदमासीमा शर्मा दोषी रहेको कुरा प्रमाणित भइसकेको प्रमुख प्रतिपक्षी दलले संसदमै ठोकुवा गरिसकेको छ ।

बजेटमा आयात हुने सेनेटरी प्याडमा लाग्ने भन्सार ९० प्रतिशत कटौती गरिएको छ । प्रधानमन्त्रीका छोरा जयवीरसिंह देउवाको कम्पनीलाई लाभ हुनेगरी सो व्यवस्था गरिएको भन्दै अहिले प्रधानमन्त्री देउवामाथि प्रश्न उठाइएको छ ।

जानकारहरु बजेटले प्रधानमन्त्रीको परिवारका सदस्यलाई लाभ हुने गरी व्यवस्था गरिएको भए सो विषयमा पनि छानबिन हुनुपर्ने बताउँछन् ।

शर्माले ढिलै भएपनि अर्थमन्त्रीबाट राजीनामा दिएर छानबिनलाई सघाउने प्रतिबद्धता जनाएका छन् । तर, अर्थमन्त्रीको बदमासीमा मौन रहेको र उहाँको परिवारको सदस्यको समेत नाम जोडिएको विषयमा प्रधानमन्त्री देउवामाथि पनि संसदीय विशेष समितिले छानबिन गर्नुपर्ने जानकारहरु बताउँछन् ।

परिवारकै सदस्यको विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री मौन बस्न नमिल्ने उनीहरु बताउँछन् । प्रधानमन्त्री बजेटका कर हेरफेरसम्बन्धी प्रकरणमा मौन देखिनुले उहाँप्रतिको शंकालाई बल पुर्‍याएको छ ।

कुनै मन्त्रीले गल्ती गर्दा उसमाथि तत्काल कारवाहीको दायित्व प्रधानमन्त्रीको हो । तर, त्यस्ता विषयमा आँखा चिम्लनुका पछाडि व्यक्तिगत स्वार्थ र मौनताभित्रका रहस्यबारे सत्यतथ्य छानबिन हुनैपर्छ ।

अर्थ मन्त्रीमाथिको छानबिन मात्र होइन संसदीय समितिले प्रधानमन्त्रीको मौनता भित्रको स्वार्थ पनि बाहिर ल्याउन आवश्यक छ । यदि प्रधानमन्त्रीसँग रहेको शक्तिको दुरूपयोग हुने सम्भावनातर्फ पनि संसदीय समिति सचेत हुनुपर्छ ।