१५ बैशाख २०८१, शनिबार

दिक्तेलमा एमालेको प्रतिपक्षी सरकार प्रमुखमा आचार्य

kumar acharya
फाइल फोटो

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेको प्रतिपक्षी सरकार प्रमुखमा कुमार आचार्य रहने भएका छन्।

नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको पूर्ण वैठकले पार्टीका सचिव तथा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा मेयरका प्रत्यासी आचार्यलाई प्रतिपक्षी सरकार प्रमुख बनाउने निर्णय गरेको हो।

नगर अध्यक्ष गोपाल चन्द्र आचार्यको अध्यक्षतामा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज उषाकला राईको प्रमुख आतिथ्यतामा े मंगलबार पुष्पलाल स्मृती भवनमा बसेको बैठकले प्रतिपक्ष सरकार प्रमुखले गर्नुपर्ने १३ काम औंलाएका छन्।

प्रतिपक्षी सरकार प्रमुखले निर्वाचित स्थानीय सरकारलाई रचनात्मक सहयोग गर्नुपर्ने, जनताका दिनानुदिनका समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्नुपर्ने, स्थानीय तहले गर्नुपर्ने योजना छनोट लगायतका सम्पूर्ण कामहरु सर्वपक्षीय, सर्वदलीय छलफल र सहमतीबाट निर्णयमा पुग्ने विधि अवलम्बन गर्ने, स्थानीय तहले गर्ने विकास निर्माणका काममा प्रदेश र संघीय सरकारसँग समन्वय गर्न पहल प्रयत्न गर्ने रहेको छ।

प्रतिपक्षी सरकारमा रहेकाले कुनै पनि उपभोक्ता समिति र नगरपालिकाले गर्ने आर्थिक गतिविधिमा समावेश हुन नपाईने, राजनीति आस्था, विचारका आधारमा कर्मचारी, उपभोक्ता समिति लगायत विभिन्न निकाय र सत्ताबाट आम जनसमुदायलाई दुःख दिने काम भएमा शसक्त प्रतिवाद र आन्दोलनको नेतृत्व गर्ने, भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको अवधारणा अपानउनु पर्नेछ।

स्थानीय सरकारले गर्ने हरेक कामको सर्वदलीय, सर्वपक्षीय सहभागितामा सार्वजनिक लेखापरीक्षण गर्नुपर्ने, स्थानीय सरकारले सञ्चालन गर्ने हरेक योजनाको अनुगमन र निरीक्षण गर्ने, अन्य राजनैतिक दलहरु, सर्वपक्षीय सरोकारवाला व्यक्तिहरु, स्थानीय सरकार र नीजि क्षेत्रसँग समन्वय गरी काम गर्ने तथा स्थानीय सरकारले गर्ने सवै सेवा प्रवाहमा हुने ढिलासुस्ती, अनियमितता, पक्षधरता र एकलौटीपना रोक्न सशक्त भूमिका निर्वाह गर्नुपर्ने प्रतिपक्षी सरकार प्रमुखको मुख्य काम हुने नगर अध्यक्ष आचार्यले बताए।

बैठकले स्थानीय निर्वाचनको मसिनोसँग समिक्षा गर्ने, चुनावमा घात प्रतिघात गर्नेहरुप्रति पार्टी निर्मम हुनुपर्ने लगायतका निर्णयहरु पनि गरेको छ।