२२ बैशाख २०८१, शनिबार

मंगलसैनमा निषेधाज्ञाबीच दिनभर प्रदर्शन

aacham gherau

जिल्ला प्रशासन कार्यालय अछामको निषेधाज्ञाबीच मंगलसैनमा विरोध प्रदर्शन तथा कोणसभा गरिएको छ । पञ्चदेवल विनायक नगरपालिकामा मृत भेटिएका विनोद शाहीको न्यायका लागी संघर्षरत समूहले विरोध प्रदर्शन तथा कोणसभा गरेको हो । 

१६ वर्षीय किशोर विनोदको न्यायका लागि चरणबद्ध आन्दोलन गर्दै आएका राजनीतिक दल तथा आफन्तले बुधबार सदरमुकाम मंगलसैनमा प्रदर्शन गरेका छन् । उनीहरूले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीको निलम्बनको मागसमेत गरेका छन् ।

कोणसभाका सहभागीले विनोदको न्यायका लागी शान्तिपूर्ण आन्दोलनका क्रममा सोमबार प्रहरीले दमन गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । १६ वर्षीया विनोदको हत्या आरोपीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुको साटो प्रहरी तथा प्रशासनले संरक्षण गरिरहेको उनीहरूको आरोप रहेको छ । 
सोमबार न्यायका लागि भइरहेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्नुले पनि घटनाका दोषीलाई राज्यबाट संरक्षण मिलेको पुष्टि भएको उनीहरूले बताएका छन् । 

कोण सभामा बोल्दै अनेरास्ववियु अछामका सचिव भीम बडालहितले विनोद हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान तथा छानबिन गर्नुको सट्टा अपराधीलाई संरक्षण गर्ने काम भइरहेको भन्दै अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीको आलोचना गरेका थिए । प्रमुख जिल्ला अधिकारी मरासेनीले जनताको सेवकका रूपमा नभई सत्ता र शक्तिको प्रलोभनमा परि पार्टी कार्यकर्ताको हैसियतमा काम गर्दै आइरहेको उनको आरोप छ । 

विनोदको न्यायका लागि राजनीतिक दल तथा आफन्तहरूले शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी प्रशासनले बेवास्ता गरेको बताउँदै उनले यसपछि सशक्त रूपमा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिए । 

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य मिना धामीले सत्ता र शक्तिको आडमा हत्या गर्ने छुट कसैलाई नभएको भन्दै घटनामा संलग्नहरूमाथि प्रहरी प्रशासनले निष्पक्ष छानबिन गर्न माग गरेकी छन् । नेकपा माओवादी केन्द्रका पञ्चदेवल विनायक नगरपालिका इन्चार्ज अमर बिक आह्वानले विनोदको न्यायका लागी शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको प्रहरी दमनप्रति आपत्ति जनाउँदै प्रहरी र प्रशासन स्वतन्त्र रूपमा परिचालित नभए न्यायका लागी कडा आन्दोलनका कार्यक्रम गरिने उद्घोष गरेका छन् । 

एमाले अछामका अध्यक्ष चन्द्र बोहराले १६ वर्षीय किशोर विनोदको न्यायका लागी गरिएको शान्तिपूर्ण आन्दोलन तथा प्रदर्शनमा प्रहरी तथा प्रशासनले दमन गरेर पीडितमाथि थप पिडा थपेको उल्लेख गरेको छन् । शान्ति सुरक्षाप्रति संवेदनशील बन्दै गरिएका शान्तिपूर्ण आन्दोलनलाई नजर अन्दाज गर्न खोजिएको बताउँदै अध्यक्ष बोहराले घटनाको अनुसन्धान र न्यायका लागी प्रहरी तथा प्रशासन समयमै जिम्मेवार नबने थप सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । 

सोमबार सङ्घर्षरत समूहले विनोदको न्यायको माग गर्दै जिल्ला अदालत नजिकै प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप तथा हातपात भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो । हातपातका क्रममा एक दर्जन प्रहरी घाइते भएको प्रहरीको दाबी छ । 

सोमबार पर्दिनकारी र प्रहरीबीच झडप भएसँगै जिल्ला प्रशासन कार्यालय अछामले एक सूचना जारी गर्दै सदरमुकाम मंगलसैनका ६ वटा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । मंगलसेन दरबार क्षेत्र, अदालत, सरकारी वकिल कार्यालय, बैरागीधारा, कृषि ज्ञान केन्द्र, मङ्गलसेन नगरपालिका कार्यालय क्षेत्रमा विरोधका कार्यक्रम नगर्न भन्दै निषेधित क्षेत्र घोषणा गरिएको भए पनि प्रदर्शनकारीले सदरमुकाममा कोणसभा सहितविरोध प्रदर्शन गरेका छन् । 

विनोदको हत्या भएको भन्दै विभिन्न व्यक्तिका नाममा किटानी जाहेरी दर्ता गर्दासमेत उनीहरूलाई पक्राउ नगरेको भन्दै आफन्तसहित विभिन्न राजनीतिक दलले संयुक्त रूपमा चरणबद्ध सङ्घर्ष गर्दै आई रहेका छन् । 

कोणसभा पश्चातबीच बजारमा नाराबाजी गर्दै सङ्घर्षरत समूहले प्रमुख जिल्ला अधिकारी मरासेनीलाई निलम्बन गर, प्रहरी दमन बन्द गर, पञ्चदेवल स्थानीय सरकार मुर्दावाद, कानुनी राज्यको अनुभूति दे लगायतका नारा लगाएका थिए ।