१५ चैत्र २०८०, बिहीबार

आन्तरिक विवादमा फसे सत्तारुढ दल, केही फुटको संघारमा !

gathabandhan

धेरैजसो सत्तारुढ दल अहिले आन्तरिक विवादमा फसेका छन् । एकीकृत समाजवादीमा असन्तुष्टि कायमै रहँदा जनता समाजवादी पार्टी फुटको संघार पुगेको छ । नेपाली कांग्रेसमा पनि गुटगत संघर्ष चर्किएको छ ।

आफ्नो पार्टीका मन्त्री फेरबदल गरेपछि सत्तारुढ एकीकृत समाजवादीमा मौनता छाएको छ । फिर्ता भएका मन्त्रीहरु पार्टी नेतृत्वप्रति असन्तुष्ट रहे पनि कोही बोल्न तयार छैनन् । तर, मुख्य सत्ताघटक नेपाली कांग्रेसभित्रको अवस्था भने फरक छ ।

कांग्रेसमा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले सरकार राम्रोसँग सञ्चालन गर्न नसकेको र पार्टी विधानअनुसार नचलाएको भन्दै असन्तुष्टि बढ्दो छ । असन्तुष्ट समुहले अलग भेला नै आयोजना गरेर सभापति देउवामाथि दबाब बढाएको छ ।

मन्त्री फिर्ता बोलाएपछि एकीकृत समाजवादीभित्र मौनता देखिँदा मन्त्री फिर्ता बोलाउने निर्णयले जनता समाजवादी पार्टी भने विभाजनकै डिलमा छ । नेताहरुका अनुसार करिब–करिब उपेन्द्र यादव समूह र बाबुराम भट्टराई समूह विभाजित बनिसकेका छन् ।

पार्टी नीति विपरित हिँडेको आरोपमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई स्पष्टीकरण सोध्ने र मन्त्री फिर्ता बोलाउने अध्यक्ष उपेन्द्र यादवको तयारीले भट्टराई निकटस्थलाई झस्काएको छ ।

संघीय परिषद् अध्यक्ष भट्टराई र अर्का अध्यक्ष यादवबीच दूरी बढेपछिसँगै यात्रा नगर्ने सहमतिमा उनीहरु पुगेका छन् । अध्यक्ष यादवले जानेलाई बाईबाई र आउनेलाई स्वागत गर्ने हो भन्दै अलग बाटो हिँड्न खोजेका भट्टराईलाई ‘ग्रिन सिग्नल’ दिइसकेपछि अब जसपा टुक्रिने सम्भावना बलियो बनेको छ ।

सत्तारुढ दल कांग्रेस, जसपा र एकीकृत समाजवादी तीनवटै दल आन्तरिक विवादमा रुमल्लिँदा कतिपयले शेरबहादुर देउवा नेतृत्वकै सरकारको आयुका बारेमा पनि अनुमान थालेका छन् । ती दल सम्हालिएर अघि बढ्लान् वा दलभित्रको विवादले राष्ट्रिय राजनीति पुनः अस्थिरता उन्मुख होला ? थाहा पाउन केही समय पर्खनैपर्ने हुन्छ ।