८ बैशाख २०८१, शनिबार

नवलपरासीको दशगजा क्षेत्रमा एक सय नेपाली, सीमामा लुकिछिपी प्रवेश

nepali

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नेपाल–भारत सीमा क्षेत्रमा भारतका विभन्न क्षेत्रबाट आइपुगेका करीब एक सय नेपाली तीनचार दिनदेखि दशगजामा छन् । नेपाल–भारत सिमाअन्तर्गत गेर्मी भुजहवा, गुठीप्रसौनी र सुस्ता नाकाको दशगजा क्षेत्रमा नेपाली बसेका हुन् ।

दशगजा आसपास क्षेत्रमा रहेका नेपालीलाई नेपालतर्फ उद्धार गर्न जिल्ला प्रशासन कार्यालयमार्फत माथिल्लो निकायमा आवश्यक समन्वय भइरहेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति भरत खनियाले जानकारी दिनुभयो ।

सीमा क्षेत्रमा आइपुगेका नेपालीले आफूहरु नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न खोज्ने नेपालीलाई दशगजा क्षेत्रमा रोक लगाउँदै आएको छ । नेपालीलाई केही स्थानीय तह र सीमा पारि भारत नजीकै रहेका गाउँलेले सामान्य खानापान र त्रिपालको व्यवस्थापन गरेका छन् ।

यसबारे आफूले गृह मन्त्रालयमा जानकारी गराइसकेको र निर्देशन आएपछि मात्र समस्या समाधान हुने प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा राति खेतको बाटो हुँदै लुकीछिपी नेपालीहरु नेपाल प्रवेश गर्ने गरेका छन् ।

सीमामा लुकिछिपी प्रवेश

राजापुर– नेपाल–भारत सीमा बन्द गरिए पनि बर्दियामा नेपाल–भारत सीमानाकामा लुकिछिपी नेपाल प्रवेशक्रम रोकिएको छैन । बर्दियाको राजापुर नगरपालिकामा ११ वर्षीया बालिकालाई कोरोना पोजेटिभ पुष्टि भएकै दिन मानिसहरु भारतबाट लुकिछिपी बर्दिया प्रवेश गरेका छन् ।

भारतको मन्सुरीमा मजदूरी गर्ने राजापुर ४ दलैका घनश्याम चौधरी र उहाँकी पत्नी सरस्वती राजापुर नगरपालिकाको चौर्गुजी नाका हुँदै नेपाल प्रवेश गरेको स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेपछि दुवैलाई स्थानीय अमर शहीद बहुमखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । यसैगरी सोमबार राति नै राजापुर घर भएका बजारका एक व्यापारी राति कर्णाली तरेर राजापुर बजारमा प्रवेश गरेकाले उनलाई पनि सोही क्वारेन्टाइनमा राखिएको छ ।

नेपालसँग जोडिएको ८३ किमी लामो सीमामा एक हजारभन्दा बढी सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् । सीमामा कडाइ भएकाले भारतबाट मानिस प्रवेश गर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । रासस