६ चैत्र २०८०, मंगलवार

पार्टीको नभई शेरबहादुर देउवा गठबन्धनको सभापति भएको आरोप

290656549 435346458226688 827986576299621760 n

नेपाली कांग्रेसको डा शेखर कोइराला पक्षीय भेलाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।

शुक्रबार सकिएको कोइराला पक्षीय बैठकले सभापति देउवाले नेपाली कांग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको निष्कर्ष निकालेको हो ।

बैठकबारे जानकारी गराउँदै केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा सरकारले बनाइरहेको धारणा लगायतका विषयमाथि छलफल भएको जानकारी दिनुभयो ।

सरकारले आफूले गरेका वाचाअनुसार जनतालाई राहत दिन नसकेको, सुशासन सम्बन्धी गरेका राजनीतिक प्रतिवद्धता पूरा गर्न नसकेको निष्कर्ष पनि शेखर समूहले निकालेको छ ।

पोखरेलले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभागलगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गरेको बताउनुभयो । बजेट बनाउँदा चरम रूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको पनि कोइराला समूहको निस्कर्ष छ ।