६ चैत्र २०८०, मंगलवार

प्रतिकारको ध्वनी फ्याँकिरहेका ओली फेल खाए, अर्काे गठबन्धन बनाउँदै प्रचण्ड, देउवालाई एक्ल्याउने नीति कि भाउ बढाउने खेल ?

gathbandan vs uml

सरकार फेरबदल र संसदीय चुनावको दौडले गठबन्धनमाथि एकपछि अर्काे चुनौती दिइरहेको छ । एउटाले अर्काेलाई दबाब दिएर कमजोर पार्ने रणनीति सबैले अख्तियार गरेका छन् ।

सत्ताको भाग पु¥याउनै संकट परेपछि गठबन्धनको आयुमाथि पनि प्रश्न उठेको छ । पाँच दलीय गठबन्धनविरुद्ध ठिङग उभिएर प्रतिकारको ध्वनी फ्याँकिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गत बैशाख २४ मा भनेका थिए, ‘गठबन्धनको आयु असार १७ गते अन्त्य हुन्छ ।

असार १७मै गठबन्धन फुट्नेभन्दै ओलीको सनसनीपूर्ण भविष्यवाणी सार्वजनिक भएपछि यता देउवा, प्रचण्ड र माधवको सत्तो गएको थियो । किनकि आत्मविश्वासले भरिपूर्ण ओलीको ठोकुवामा यति दम थियो कि, मानौं सब निश्चित छ ।

तर असार १७ आयो, ओलीको भविष्यवानी अनुमोदन भएन । किनकि गठबन्धन सग्लै छ । तथापी ज्योतिषशास्त्रमा ओली फेल भएपनि गठबन्धनभित्रै अर्काे गठबन्धनको हलचल चलिरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक आफन्तीको निवास हात्तिवनमा शुक्रबार बिहानै गठबन्धनको बैठक बस्यो ।

पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता बेगर बसेको यो बैठक तीन दलीय गठबन्धनको थियो ।प्रधानमन्त्री देउवालाई दबाब दिएर आफ्नो दुनो सोझ्याउने दाउमा रहेका उनीहरु छुट्टै मोर्चा चलाइरहेका छन् ।

सुटुक्क कोठे बैठक बसेर बालुवाटार छिर्ने र देउवासँग मोलमोलाई गर्ने तरिका विगतदेखि नै चलिरहेको छ । झन संसदीय निर्वाचन सम्मुखमै रहेका बेला यसको गति बढेको छ ।

गठबन्धनभित्रको तीन दलीय मोर्चा दबाबमुलुक बनिरहेका बेला प्रधानमन्त्री देउवासमेत आफुअनुकुल कित्ता परिवर्तनको प्रयासमा छन् ।

पार्टीमा अध्यक्ष उपेन्द्र यादवसँग छुटिने सहमति गरेका जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित लोसपासँग तालमेल गर्नेसम्मको तयारी देउवाको छ ।

सहकार्यबाहेक प्रचण्ड, माधव र उपेन्द्रलाई दबाब दिनु देउवाको अर्काे नीति हो । किनकि अहिले केन्द्रदेखि प्रदेशसम्म मन्त्री फेरबदलको विषय पेचिलो बन्दै जाँदा गठबन्धनमा संशय छ ।

केन्द्रमा समाजवादीका मन्त्री फेर्न हजार चोटी सोचेका देउवाले प्रदेशमा समेत नयाँ संकट देखिरहेका छन् । बागमति प्रदेशमा समाजवादीको सरकार ढालेर काँग्रेस नेतृत्वमा आउने तयारी चलेको छ ।

सुदुरपश्चिममा समाजवादी ताक्न खोज्दै छ । प्रदेश एकको समाजवादी सरकार ढालेर काँग्रेस–माओवादी दुबै सत्तामा जान खोजिरहेका छन् ।

प्रदेश सरकार यसैपनि अलोकप्रिय छन्, त्यसमा सत्तास्वार्थको जगमा उभिएर भइरहेका फेरबदलले ओली र गठबन्धनबीच फरक देखाएको छैन ।

तथापी दलहरु गठबन्धनमा सबैले सबैलाई दबाब दिने नीति अख्तियार गरेका छन् । जसमा सहमति नभए संसदीय निर्वाचनमा मिलेर जान गठबन्धनलाई धौं हुनेछ ।

प्रचण्ड–माधवलाई दबाबमा पार्न खोजेपनि देउवा गठबन्धनलाई सग्लो बनाएर निर्वाचनमा जान खोजिरहेका छन् । स्थानीय तहको चुनाव आएको सुखद परिणामले देउवालाई संसदीय निर्वाचनमा समेत गठबन्धनको आवश्यकता देखाइदिएको छ ।

गठबन्धन नभएवा मधेशवादी दलहरु एक ठाउँमा उभिए आफ्नै पत्नी आरुजुले हार्ने अवस्था आउनेछ । रमेश लेखक र एनपी साउद जस्ता व्यक्तिलाई सुदूरमै व्यवस्थापन गर्न देउवाका लागि भारी पर्नेछ ।

यता गठबन्धनका अन्य दल देउवालाई सीमित दिएर आफु अनुकुल संसदीय निर्वाचनमा जान चाहन्छन् । जसले फेरि गठबन्धनमा संकट ल्याउने छ ।

गठबन्धन यसै तनावमा रहेका बेला गठबन्धनमा आवद्ध दलहरुका आन्तरिक तनावले थप चुनौती दिइरहेका छन् । देउवाले आफ्नै पार्टी सम्हाल्न नसकिरहेका बेला समाजवादी र जसपा जस्ता दलहरुका मन्त्री फेरबदल गर्दै फुटबाट रोक्ने टेको बन्नु परेको छ ।

पछिल्लो पटक जसपामा विभाजन देखिएपछि बाबुरामले प्रचण्डको भेट बाक्लो बनाएका छन् । जुन उपेन्द्रलाई सम्झाई बुझाइ गरिदिन अनुरोध गर्न हो वा प्रचण्डसँग मिल्न हो ? तर गठबन्धनमा देखिएको उतारचढाव हेर्दा ओलीकै भविष्यवानी मेल नखाएपनि लामो समय गठबन्धन टिक्ने लक्षण भने देखिएको छैन ।