१४ बैशाख २०८१, शुक्रबार

आफ्नै नेतृत्वमा अलग पार्टीको सुरुवात गरे वामदेव गौतमले

bamdev gautam
फाइल फोटो

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएपछि कुनै समूहमा नलागेका नेता वामदेव गौतमले आफ्नै नेतृत्वमा अलग पार्टीको अभ्यास सुरु गरेका छन् ।

शनिबार ललितपुरको धोबिघाटमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका गौतमले आइतबार चन्द्रागिरीमा केन्द्रीय समिति बैठक राखेका छन् ।

यो बैठकले ७१ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म पार्टी संरचना निर्माणको थालनी गर्ने गौतम निकट एक नेताले बताए । ‘धोबिघाटमै पदाधिकारी घोषणा गर्ने तयारी थियो ।

तर थप छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको हो’ ती नेताले भने । नेकपा विभाजित भएपछि १४ माघ २०७७ मा गौतमले ६५१ सदस्यीय नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

यो अभियानले विभाजित नेकपालाई फेरि जोड्ने गौतमको घोषणा थियो । तर सर्वोच्च अदालतले पार्टीको नाम विवादमा २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्रको एकता अस्वीकार गरेपछि नेकपाको अस्तित्व नै रहेन । २ भदौ ०७८ मा पुनर्स्थापित एमाले पनि विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो ।

एकपछि अर्को विभाजनको अवधिमा सक्रिय राजनीतिक गतिविधिमा नदेखिएका गौतमले अन्ततः आफ्नै नेतृत्वमा अलग पार्टी संरचनाको अभ्यास सुरु गरेका हुन् ।