१६ चैत्र २०८०, शुक्रबार

‘कबड्डी-४’ हिट हुनुका सात कारण

kabaddi 4

नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाई गर्ने फिल्मको नाम, ‘कबड्डी ४ फाइनल म्याच’ को पोल्टामा गैसकेको छ ।

केही बर्षदेखि यो रेकर्ड ‘छक्का पन्जा ३’ माथि थियो । तर, २२ करोड भन्दा बढीको कमाई गर्दै यो फिल्मले सर्वाधिक कमाई गर्ने फिल्मको रेकर्ड बनाएको छ ।

यसको रेकर्ड तोड्न अब अन्य फिल्मलाई फलामको चिउरा चपाए जस्तै हुनेछ । निर्माताको दाबीलाई मान्ने हो भने, ‘कबड्डी ३’ले १२ करोडको ग्रस कलेक्शन गरेको थियो ।

यसैले, यसको चौथो सिरिजले तेश्रो भन्दा करिब डबल बढी व्यापार गरेको छ । आखिर, यो चलचित्रले यति ठूलो आँकडाको व्यापार किन गर्यो, हामीले ७ कारण यहाँ प्रस्तुत गरेका छौं ।

१. नामः ‘कबड्डी’ आफैमा एउटा ब्रान्ड फिल्म हो । पहिलो सिरिजबाट नै दर्शकमा फरक स्वाद दिदै उत्सुकता पैदा गरेका कारण यो फिल्म आम दर्शकका लागि नयाँ थिएन ।

यसैले, यसको नामले चौथो सिरिजमा काम गरेको पक्का हो । किनकी, निर्माणपक्षलाई फिल्मको नामको ब्रान्डिङ गर्नका लागि कुनै कसरत नै गर्नु परेन ।

२. जुनेली गीतः फिल्म चल्नुको अर्को कारण ‘जुनेली’ बोलको गीत पनि हो । संभवत, ‘कबड्डी’ सिरिजका गीतहरुमध्ये जुनेली बोलको गीत सर्वाधिक चलेको थियो ।

फिल्म चल्नु अगाडि नै यो गीतले आम दर्शकको मन जितेको थियो । गीतका कारण पनि यो फिल्म चल्न ठूलो मद्दत गरेको छ ।

३. अन्तिम सिरिज: यो फिल्म चल्नुको अर्को कारण, अन्तिम सिरिजको प्रचार पनि हो । यसअघि ३ वटा सिरिज हेरेका दर्शकका लागि यसको नशा त लाग्ने नै भयो ।

नहेरेका दर्शकले पनि अन्तिम सिरिज भनेर यसमा मन बनाएका थिए । जसकाकारण, हलमा फिल्म हेर्ने दर्शकको भीड नै लाग्यो ।

४. काजीको बिहेः फिल्म चल्नुको मुख्यकारण, फिल्मले छाडेको प्रश्न पनि थियो । फिल्मको अघिल्ला ३ सिरिजमा बिरकाजीको बिहे हुन सकेको थिएन । तर, आम दर्शक बिरकाजीको बिहेको भए हेर्न चाहन्थे ।

चौथो सिरिज अन्तिम भनिएकाले पनि बिरकाजीको बिहे हुन्छ या हुँदैन भन्ने प्रश्नले दर्शकलाई फिल्मप्रति उत्सुक बनाएको थियो ।

५. कलाकारः यो फिल्मको मुख्य कलाकार दयाहाङ राई हुन् । दयाहाङ राईको साथमा सौगात मल्ल, बुद्दि तामाङ, बिजय बराल लगायतको उपस्थितीले पनि फिल्मलाई बलियो बनायो ।

यी कलाकारले बोल्ने संवाद, कलाकारको क्रेज र उनीहरुको अभिनयले पनि दर्शकलाई लोभ्याएको थियो ।

६. निर्देशकः दर्शकको विश्वास रामबाबु गुरुङमाथि पनि खुबै देखियो । चौथो सिरिजसम्म आइपुग्दा रामबाबुले राम्रो फिल्म बनाउँछन् भन्ने विश्वास दर्शकले गरे । जसकाकारण, उनको नाममा पनि दर्शक फिल्म हेर्न पुगे ।

७. अन्य फिल्म नआउनुः पहिलो सातामा माथि उल्लेखित ६ कारणले चलेको फिल्मलाई पछिल्ला हप्तामा भने अन्य ठूला र अपेक्षित फिल्म नआउनुको फाइदा भयो ।

बलिउड फिल्म ‘सम्राट पृथ्वीराज’ले समेत खासै असर नगरेपछि यो फिल्म निरन्तर अगाडि बढ्न सक्यो । नेपाली फिल्ममा पनि प्रतिस्पर्धी फिल्म रिलिज भएन । जसको फाइदा यो फिल्मलाई भयो ।

र अन्त्यमा, यो फिल्मलाई विवादले पनि नेपालमा भने फाइदा भएको छ । नायिका मिरुना मगर र फुर्पा तामाङबिचको विवादले राष्ट्रिय रुपमा नै चर्चा पायो । जसको फाइदा फिल्मलाई नेपालमा भयो ।

सिक्किममा फिल्म रोकिएपनि, फिल्मको प्रचार यो विवादले अझै बढ्यो । जसलेगर्दा, एकपटक हेरौं न त भन्ने मुडमा दर्शक पुगे । ‘कबड्डी ४’ ‘कबड्डी’ सिरिजको सबैभन्दा कमजोर फिल्म हो । तर, यसले सर्वाधिक धेरै कमाई गर्ने फिल्मको रेकर्ड बनाएको छ ।