१६ चैत्र २०८०, शुक्रबार

उपत्यकामा बढ्यो हैजाको जोखिम, कसरी जोगिने ? यस्तो तयारी ललितपुरमा

sukraraj tropical hospital teku

गर्मी र वर्षायाम शुरु भएसँगै हैजा, झाडापखाला लगायतको जोखिम बढेको छ । जोखिम मात्रै होइन, हैजाका कारणले महामारीकै रुप लिने होकि भन्ने चिन्ता पनि बढेको छ । कसरी जोगिन सकिन्छ हैजाबाट ?

ललितपुर महानगरपालिकाले हैजा फैलन नदिन भन्दै यसरी माइकिङ गर्न थालेको छ । माइकिङ मात्रै होइन, आइतबारदेखि महानगरभित्र ठेलामा बेच्ने पानीपुरी र चटपटेमा समेत रोक लगाएको छ ।

पानीपुरीमा प्रयोग गरिएको पानी फोहर हुने र चटपटेमा पनि सडकको धुलो मिसिने भएकाले हैजा फैलन सक्ने भन्दै विक्रीमा रोक लगाएको महानगरपालिकाको दाबी छ ।

स्तनपान नगराएका बालबालिका, कुपोषित, दुषित खाना र पानी पिउने व्यक्ति, व्यक्तिगत सरसफाईमा ध्यान नदिने तथा खोप नलगाएका व्यक्तिमा हैजाको जोखिम धेरै हुन्छ । हैजा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणबाट हुन्छ। हैजा शरीरमा कसरी प्रवेश गर्छ त ?

बाढीका कारण पानीका स्रोत प्रदुषित हुँदै गएका छन्। जार तथा बोतलको पानीसमेत शुद्ध नहुँदा हैजाको जोखिम अझै बढेको छ । त्यसैले शुद्ध पानी पिउन, फलफूल तथा तरकारी सफा पानी प्रयोग गरेर पखाल्न र दिसापिसाव गरिसकेपछि राम्रोसँग हात धुन चिकित्सकको सुझाव छ ।

अशक्त हुने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार वान्ता भैरहेमा, धेरै तिर्खा लाग्ने वा ज्वरो आउने भएमा तथा पातलो दिसा लागेमा हैजाको संक्रमण भएको हुन सक्छ ।

योसँगै पेट र हातगोडा बाँउडिनु पनि हैजाको संकेत हुन सक्छ । यस्तो अवस्थामा तुरुन्तै अस्पताल लैजान चिकित्सकहरुले सुझाव दिएका छन् ।