१४ बैशाख २०८१, शुक्रबार

कोरोनाबाट जोगिन खानपानबारे डब्लुएचओका पाँच टिप्स

food 1

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले धेरै कुराहरू परिवर्तन भइरहेका छन् ।

भाइरसका कारण अहिले विश्व नै संकटमा छ। मानवजाति सतर्क छ। कामकाज, सरसफाइदेखि लिएर खानपानको तौरतरिकामा बदलाव आएको हो। व्यक्तिगत सरसफाइलाई ख्याल गर्न थालिएको छ, भौतिक दूरी कायम गरिएको छ। तर, अझै पनि खानपानको तरिकामा परिवर्तन भएको देखिँदैन।

काम गर्ने तरिका, सरसफाइदेखि खानपानको तरिका परिवर्तन भएका कुराहरूको सूचीमा समावेश छन् ।

मानिसको प्राथमिकतामा स्वास्थ्य र विशेषगरी खानपान र स्वच्छताको मुद्दा अचानक माथि आएको छ । यसअघि यो कुरा प्राथमिकतामा थिएन भन्ने होइन । तर, यसअघि खानपान र स्वच्छता हाम्रो जीवनशैलीको यस्तो कुरा थियो, जसलाई आ–आफ्नो रुचिको रुपमा हेरिन्थ्यो ।

अहिले मानिसहरू के कोरोना भाइरस खानपानको कारण पनि फैलिन्छ ? भन्ने कुराले चिन्तित बनेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले खानपानका लागि आवश्यक पाँच जरुरी टिप्स दिएको छ ।

१. सधैं स्वच्छ रहनुहोस्

  • – खाना बनाउनुभन्दा पहिला र खाना बनाउँदै गर्दा हात धोइरहनु जरुरी हुन्छ ।
  • – शौचालय गएपछि हात धुनु जरुरी हुन्छ ।
  • – भान्सा, चुलो र भाँडा राम्रोसँग धुनुहोस् र स्यानिटाइज्ड गर्नुहोस् ।
  • – भान्सालाई कीरा तथा अन्य जनावरबाट मुक्त राख्नुहोस् ।

यो किन आवश्यक छ ?

धेरैजसो सूक्ष्म जीवाणुले रोग फैलाउँदैनन् । तर, यिनीहरूमा केही यस्ता जीव पनि हुन्छन्, जुन माटो, पानी, जनावर र मानिसमा व्यापकरुपमा पाइन्छ । यस्ता सूक्ष्म जीव हाम्रो हात, सरसफाइमा प्रयोग हुने कपडा, भाँडा, काटिङ बोर्डमा पनि हुन सक्छन् ।

खानेकुरासँग यस्ता जीवको सम्पर्क भयो भने खानपानबाट हुने रोगहरू फैलिने खतरा बढी हुन्छ ।

२. काँचो खानेकुरालाई पाकेकोसँग नराख्नुहोस्

  • – कुखुराको मासु, अण्डा, काँचो मासु र समुद्रका जीवजन्तुको मासुजस्ता खानेकुरालाई छुट्टै राख्नुहोस् ।
  • – काँचो खानेकुरालाई चलाउने चक्कु, कटिङ बोर्डजस्ता भाँडा छुट्टै प्रयोग गर्नुहोस् ।
  • – काँचो खानेकुरा र पाकेको खानामा कुनै किसिमको सम्पर्क नहोस् भन्नेमा ध्यान दिनुहोस् ।

यो किन आवश्यक छ ?

काँचो खानेकुरा विशेषगरी मासु, अण्डा र समुद्री जनावरको मासुमा यस्ता खतरानक सूक्ष्म जीव हुन सक्छन्, जुन पकाउँदा अन्य खानेकुरालाई संक्रमित गर्न सक्छन् ।

३. खानेकुरा राम्रोसँग पकाउनुहोस्

  • – विशेषगरी मासु, कुखुरा, अण्डा र समुद्री जीवको मासु राम्रोसँग पकाउनु जरुरी हुन्छ ।
  • – सुप र झोल पदार्थ उमाल्दा तापक्रम कम्तीमा ७० डिग्री सेल्यिससम्म पुगेको सुनिश्चित गर्नुहोस् ।
  • – पाकिसकेको खानालाई राम्रोसँग फेरि तताउनुहोस् ।

यो किन आवश्यक छ ?

राम्रोसँग खाना पकाउँदा सूक्ष्मजीवहरू पूर्णरुपमा नष्ट हुन्छन् । अनुसन्धानको क्रममा ७० डिग्रीसम्म खाना पकाउँदा यो खान लायक हुने गरेको पाइएको छ ।

४. खानेकुरालाई सुरक्षित तापक्रममा राख्नुहोस्

  • – पाकेको खानेकुरालाई कोठाको सामान्य तापक्रममा दुईघण्टाभन्दा लामो समय नराख्नुहोस् ।
  • –तयार भएको र छिटै बिग्रिने खानेकुरालाई पाँच डिग्रीभन्दा कम तापक्रममा फ्रिजमा राख्नुहोस् ।
  • – फ्रिजमा पनि खाना लामो समयका लागि स्टोर नगर्नुहोस् ।
  • – जमेका चीजहरूलाई सामान्य तापक्रममा कोठामा पग्लिन नदिनुहोस् ।

यो किन आवश्यक छ ?

पकाएको खानालाई सामान्य तापक्रममा कोठामा राख्दा सूक्ष्मजीवको छिटै विकसित हुन सक्छन् । पाँच डिग्रीभन्दा कम वा ६० डिग्रीभन्दा बढी तापक्रममा सूक्ष्म जीवको विकास रोकिन्छ वा सुस्त हुन्छ । यद्यपि केही खतरानक सूक्ष्मजीव पाँच डिग्रीभन्दा पनि विकसित हुन्छन् ।

५. सफा पानी र स्वच्छ भोजन सामग्री

  • – स्वच्छ पानीको प्रयोग गर्नुहोस् र यो उपलब्ध नभए सुरक्षित र प्रयोग गर्न सकिने किसिमले सफा गर्नुहोस् ।
  • – ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गर्नुहोस् ।
  • – सुरक्षितरुपमा तयार पारिएको खाना रोज्नुहोस् ।
  • – फलफूल तथा तरकारीलाई अनिवार्यरुपमा पखाल्नुहोस् ।
  • – म्याद गुज्रिएका खानेकुरा नखानुहोस् ।

यो किन आवश्यक छ ?

पानी र बरफमा केही सूक्ष्म जीव वा हानिकारक तत्व हुन सक्छन् । खराब र विषालु खानामा विषाक्त रसायन हुन सक्छन् ।

स्रोत : बीबीसी