१४ बैशाख २०८१, शुक्रबार

हिरो हिरोइनले एकले अर्कोलाई नछोएरै सकियो ‘प्रेमगन्ज’को शीर्ष गीत (भिडियो सहित)

fore news

परिच्छेद सेनको डेब्यू निर्देशन रहेको फिल्म ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ रिलिज भएको छ ।

गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । फिल्मले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।

गीतको कोरियोग्राफीमा एक अर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन् । कोरियोग्राफीको यो शैलीलाई प्रष्ट पार्दै परिच्छेद भन्छन्, ‘फिल्मको टर्निङ पोइन्ट त्यही नै हो र फिल्मको सम्पूर्ण कथा उनीहरूको त्यही माया गर्ने शैली भित्र लुकेको छ ।’

फिल्मको टिजरमा पनि राजाले मैनाको छायाँलाई स्पर्श गर्ने कोशिस गरेको दृश्य देख्न सकिन्छ । टिनएजदेखि युवा अवस्थासम्म एकले अर्कोलाई नछोई कसरी प्रेम गर्न सके ? यो कौतुहलता मेटाउन हल जानुपर्ने निर्देशक परिच्छेदको जिकिर छ । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् ।

फिल्मको गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द रचना छ भने किरण भुसालको संगीत रहेको छ । सुगम पोख्रेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि परिच्छेद सेन नै हुन ।

फिल्ममा बेनिशा हमाल, तेज गिरीका अलावा सुरक्षा पन्त, सम्पदा बानियाँ, राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, पबन भट्टराई, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइलीको आदि कलाकारको अभिनय रहेको छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । सञ्जय लामाको छायाङ्कन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा फिल्म एकसाथ प्रदर्शन हुँदैछ ।