६ बैशाख २०८१, बिहीबार

लहर स्वतन्त्रको : स्वतन्त्रको सञ्जालदेखि पार्टी नै स्वतन्त्रसम्म

rabi

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारले केही स्थानमा जितेपछि अहिले स्वतन्त्र उमेदवारी घोषणाको लहर नै चलेको छ ।

संघीय र प्रदेश निर्वाचनको मिति तय नहुँदै स्वतन्त्र उमेदवारहरु भने सञ्जाल बनाएरै सक्रिय हुन थालेका छन् । त्यति मात्र होइन, स्वतन्त्र नाम राखेर पार्टी नै दर्तासम्मको प्रक्रिया अघि बढाइएको छ ।

काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका लगायतका केही पालिकाहरुमा यसपटक स्वतन्त्र उमेदवार निर्वाचित भए । त्यसको प्रभाव संघ र प्रदेशको निर्वाचनमा पनि पर्ने देखिएकोछ ।

स्थानीय तहमा प्राप्त परिणामले स्वतन्त्र उमेदवारी दिन चाहनेलाई उत्साही बनाएको छ । राजनीतिमा होमिएका पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले स्वतन्त्र उमेदवारहरूको सञ्जाल नै बनाउनुभएको छ । असार १७ र १८ गते सञ्जालले राष्ट्रिय भेला बोलाएको छ ।

देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्यूनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वाचन क्षेत्र कायम गरिने विज्ञप्तिमार्फत जनाइएको छ । काठमाडौं–३ बाट हरिशरण लामिछाने, काठमाडौं–१ मा पुकार बम, काठमाडौं–५ मा रञ्जु दर्शना र ८ मा सुमन सायमी, विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट प्रतिस्पर्धा गर्ने सञ्जालले जनाएको छ । देशैभर सञ्जाल भएका राजनीतिक दलहरुलाई चुनौती दिन आएका स्वतन्त्र उमेदवारहरुलाई किन चाहियो सञ्जाल नै रु

स्वतन्त्र उमेदवारहरुले सञ्जाल बनाउने हो भने उनीहरु दलभन्दा कसरी भिन्न होलान् ? यतिबेला सामाजिक सञ्जालमा बहस छेडिएको छ । स्वतन्त्र उमेदवार सञ्जाल बनाउँदा कुनै स्वतन्त्र रहिरहलान् वा कुनै स्वार्थबाट प्रेरित होलान् ? भन्ने प्रश्न पनि उठाइएको छ । तर, राजनीतिक मामिलामा चासो राख्नेहरु स्वतन्त्रहरुको सञ्जाल गठनको विषय स्वभाविक नै ठान्छ । तर, स्वतन्त्र नाम राखेरै पार्टी गठन गर्दा स्वतन्त्रको हैसिएत नरहने जानकार बताउँछन् ।

सञ्जालको बलमा स्वतन्त्र उमेदवारहरु अघि बढ्न खोज्ने हो भने संगठनको बलमा दलहरु अघि बढ्ने शैलीभन्दा कसरी भिन्न होला रु स्वतन्त्रहरुको सञ्जालको राष्ट्रिय भेलाले अहिले सञ्जालमाथी उठेका प्रश्नको जवाफ दिन सक्ला रु चासोका साथ हेरिएको छ ।