१५ चैत्र २०८०, बिहीबार

नेटो प्रमुखले भने- वर्षौसम्म चल्न सक्छ रूस-युक्रेन युद्ध

neto

नेटोका प्रमुख रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरुलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रूसलई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् ।

जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस-युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताएका थिए ।

जोनसन र स्टोल्टेनबर्ग दुबैले धेरै हतियार पठाउँदा युक्रेनको जीतको सम्भावना बढ्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

पश्चिमी देशहरुको सैन्य गठबन्धन नेटोका प्रमुखले युक्रेनलाई आधुनिक हतियार आपूर्ति गर्नाले डोनबासको क्षेत्रलाई स्वतन्त्र गराउने सम्भावना बढ्ने बताए । यस क्षेत्रको ठूलो भाग रुसको नियन्त्रणमा गएको छ ।

पछिल्लो केही महिनादेखि रूस र युक्रेनका सैनिक देशको पूर्वी क्षेत्रलाई आफ्नो पकड बलियो बनाउन लडिरहेका छन् ।