१२ बैशाख २०८१, बुधबार

लिपुलेक सन्दर्भ: परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्ती जारि, भारतीय दूतावास अगाडि प्रदर्शनमा दुई दर्जन बढी पक्राउ

foreign ministry nepal

भारतले शुक्रवार पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक उद्घाटन गरेको विषयमा नेपालले विज्ञप्ती जारि गर्दै आधिकारिक रूपमा कडा आपत्ति जनाएको छ।

धार्चुला-लिपुलेक लिङ्क रोडको उद्घाटन भारतीय गृहमन्त्री राजनाथ सिंहले गरेका थिए। शनिवार परराष्ट्र मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित सबै क्षेत्र नेपालको भूभाग रहेको दोहोर्‍याएको छ।

नेपाल भारतका प्रबुद्ध व्यक्तिहरूको समुह इपीजीको प्रतिवेदन बुझ्न नेपाल तयार रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। सुगौली सन्धी लगायत नेपाल भारत सम्बन्धका विभिन्न पाटामा सर्वसम्मत प्रतिवेदन तयार भएपनि भारतले बुझ्न समय नदिएपछि उक्त प्रतिवेदन थन्किएको छ।

विज्ञप्तिमा दुई महत्त्वपूर्ण कुटनीतिक नोटबारे पनि उल्लेख छ।

  • पहिलो, सन् २०१५ मा चीन र भारतले लीपु लेकमार्फत् दुईदेशीय व्यापार गर्ने सहमति गरेपछि त्यसको विरोधमा आफ्नो सहमति नभएको भन्दै दुवै देशलाई कुटनीतिक नोट पठाइएकोबारे हो।
  • दोस्रो भारतले गत वर्ष जारी गरेको नयाँ राजनीतिक नक्शामा मतभेद प्रकट गर्दै लिपु लेक नेपालको भएको भन्नेबारे भारतलाई कुटनीतिक नोट पठाइएको भन्नेबारे हो।
ministry of foreign affairs

भारतीय दूतावास अगाडि प्रदर्शन

भारतले नेपाल भुमी अतिक्रमण गरेको भन्दै भारतीय दुतावास अगाडि प्रदर्शन गरेका विद्यार्थीहरु पक्राउ परेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले यसरी प्रदर्शन गरेको जनाइएको छ ।

काठमाडौंस्थित भारतीय दूतावास अगाडि भारतले नेपाल भूमि लिपुलेकमा सडक बनाएको भन्दै विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । आज दिउँसो प्रदर्शन गर्नेक्रममा दुई दर्जन बढी विद्यार्थी पक्राउ परेको जनाइएको छ ।

लकडाउन उल्लंघन गरेकाले उनीहरूलाई शनिवार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत  पक्राउ परेका हुन् ।