१५ चैत्र २०८०, बिहीबार

सशस्त्र प्रहरी उपरीक्षकको पदावधि ४ वर्षको सट्टा ३ वर्ष बनाउने प्रस्तावमा अर्थ मन्त्रालयकाे सहमति

ministar home

सशस्त्र प्रहरी उपरीक्षकको ‘पदावधि’ घटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली संशोधन गरेर पदावधि घटाउन अर्थ मन्त्रालयसँग सहमति मागेको थियो ।

सहमतिका लागी अर्थ मन्त्रालयमा पेस गरिएको प्रस्ताव अनुसार सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को पदावधि ४ वर्षको सट्टा ३ वर्ष बनाउन भनिएको छ । गृह मन्त्रालयको सो प्रस्तावमा अर्थमन्त्री जनार्दन शर्माले जेठ २७ मा सहमति दिएका छन् । अर्थको सहमतिपछि नियमावली संशोधन सम्बन्धी सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने छ ।

सशस्त्रमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पुरा भएको हुनुपर्छ । सशस्त्र प्रहरीको नियमावलीमा भएको सो व्यवस्थालाई संशोधन गरेर अन्य पदमा बाहेक एसएसपीमा बढुवा हुनका लागी मात्र ३ वर्षे सेवा अवधि बनाउने प्रस्ताव गरिएको छ ।

सशस्त्रका तत्कालीन आईजीपी शैलेन्द्र खनालले आफू निकटलाई फाइदा पुग्ने गरी ३ वर्षे सेवा अवधि बनाउन प्रस्ताव गरेको भनेर संगठनभित्र आलोचना भइरहेको छ । कामु एसएसपी दीपेन्द्र कुँवरलाई बढुवा गर्न नियमावली संशोधन गरेर माथि ल्याउन चलखेल भइरहेको छ । अहिले ११ नम्बरमा वरियतामा रहेका कुँवर प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका ज्वाइँ हुन् ।