२५ बैशाख २०८१, मंगलवार

तीन महिनादेखि सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक काम कारबाही ठप्प

soru gaupalika mugu

मुगु, सोरु गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक काम कारबाही ठप्प भएको छ । गाउँपालिकाका निवर्तमान लेखापाल जेठबहादुर बुढा गत फागुनमा सरुवा भई दैलेख गएपछि गाउँपालिकामा आर्थिक कारोबारमा समस्या भएको हो । 

काम चलाउन गमगढी, नाक्चेनाङला सडकमा कार्यरत लेखापाल राजबहादुर भण्डारीलाई केही दिनका लागि काजमा ल्याए पनि उनी दुईपछि फिर्ता भएका थिए । असार मसान्त नजिकिँदै गर्दा पालिकामा आर्थिक कारोबार हेर्न लेखापाल नहुँदा योजनाको भुक्तानीदेखि कर्मचारी तलब निकासामा समस्या भएको सोरु गाउँपालिकाले जनाएको छ । 

कोही पनि लेखापाल सोरु गाउँपालिकामा जान मान्दैनन् । लेखाका काम नहुँदा अरु काम समेत प्रभावित भएका छन् । पालिकामा सञ्चालित योजनाहरूको अन्तिम भुक्तानी लिन उपभोक्ता समितिका पदाधिकारीहरू फाइल बोकेर दिनका दिन पालिकामा आउने गरे पनि रित्तो हात फर्किने गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर सेजुवालले जानकारी दिए ।

लेखापाल नहुँदा स्थायी कर्मचारीले दुई र अस्थायी कर्मचारीले पाँच महिनादेखि तलब पाएका छैनन् । कोष तथा लेखा नियन्त्रक र अन्य कार्यालयमा कार्यरत लेखापालहरूलाई सेजुवालले काम गरिदिन आग्रह गरे पनि सबैले अस्वीकार गरिरहेको उनको भनाइ छ ।