१३ बैशाख २०८१, बिहीबार

लिपुलेक-मानसरोवर जोड्ने भारतीय सडक : कांग्रेसद्वारा सरकारको धारणा माग, कमल थापाको विरोध, नेपालको सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप वैद्य

kailash mansarovar link road

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतले मानसरोवर जोड्न नेपाली भूमि हुँदै जाने सडक उद्घाटन गरेकोबारे सरकारको धारणा चाहेको बताएका छन्। भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेपछि ट्विट गर्दै शर्माले यस्तो बताएका हुन्।

‘लिपुलेक नेपालको भूमि हो, हामी प्रष्ट छौं,’ शर्माले ट्विटरमा लेखेका छन्, ‘चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा चाहन्छौं।’ कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न समेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्। ‘नेपाली भूभागहरुबारे उच्चस्तरीय कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न सरकारको दायित्व पुनः स्मरण गराउंदछौं,’ उनले भनेका छन्।

नेपाल सरकारको उदासीनता खेदजनक छ’ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लिम्पियाधुरारलिपुलेक लगायतका नेपाली भूभाग अतिक्रमण हुँदा पनि सरकार उदासीन बसेको आरोप लगाएका छन् ।

भारतीय रक्षामन्त्रीले धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलास्थित लिपुलेक हुँदै मानसरोवर पुग्ने सडकको उद्घाटन गरेपछि थापाले यसको विरोध गरेका हुन् । उनले नेपाली भूभाग अतिक्रमणबारे सरकारले आवश्यक कदम चाल्नुपर्ने धारणा राखेका छन् ।

‘लिम्पियाधुरारलिपुलेक नेपाली भूमि हो । त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको छ’ पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका थापाले ट्विटरमा लेखेका छन्, ‘भारत सरकारको यस कार्यको भत्सर्ना गर्दछु । नेपाल सरकारको उदासीनता खेदजनक छ । यसबारे अविलम्ब आवश्यक कदम चाल्न सरकारसँग माग गर्दछु ।’

भारतका रक्षामन्त्रीको कदम नेपालको सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेपः वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारतले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गरेको आरोप लगाएको छ । सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले आज एक विज्ञप्ति जारी गरी हालै भारतका रक्षामन्त्री राजनाथसिंहले नेपाली भूभाग गुञ्जी, लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने सडक उद्घाटन गरेर नेपाली सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठाडो हस्तक्षेप गरेको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा सो पार्टीले उक्त अतिक्रमणको कडा विरोध गर्दै नेपाली भूमि भएर सडक निर्माण गर्ने काम अविलम्ब रोक्न भारत सरकारसमक्ष जोडदार माग गरेको छ । साथै उक्त कदमको सो पार्टीले घोर भत्र्सना समेत गरेको छ ।

वैद्यले नेपालको भूमिबाट एकलौटी रुपमा सडकको ट्रयाक खोलेर उद्घाटन गर्दा समेत त्यसको अनदेखा गर्ने नेपाल सरकारको लाचारीप्रति खेद व्यक्त गर्दै सो काम रोक्न तत्काल भारतीय सरकारसँग कुटनीतक पहल गर्न माग समेत गरेका छन् ।

mohan P0prpogwEq

सन् १८१६ मा भएको सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । सर्वे अफ इन्डियाले सन्धि विपरीत नेपाली भूभागसमेत भारततर्फ पर्ने गरी नक्सा सार्वजनिक गरेको थियो ।

यसअघि राजनीतिक नक्सामा नेपाली भूमि पारेको भारतले एकक्षीय रुपमा निर्माण गरिएको उक्त सडकको शुक्रबार उद्घाटन गरेको हो। भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत भारतको धार्चुलाबाट लिपुलेक पुग्ने सडकमार्गको उद्घाटन गरेका हुन्। त्यस्तै पिथौरागढबाट गुञ्जी पुग्ने मार्गको पनि उनले उद्घाटन गरे। गुञ्जी र लिपुलेक नेपाली भूमि हुन्।

भारतले गत नोभेम्बर २ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी (लिपुलेक र लिम्पयाधुरा समेत) पारेपछि विवाद उत्पन्न भएको थियो। त्यसको कूटनीतिक माध्यममार्फत समाधान खोजी नसकिएको अवस्थामा भारतले फेरि उक्त क्षेत्र छुने गरी बनाइएको बाटो उद्घाटन गरेको हो।