१४ बैशाख २०८१, शुक्रबार

सात दिनभित्र बर्दिया घटनाको प्रतिवेदन पेश गर्न छानबिन समिति गठन

ministar home

गृह मन्त्रालयले बर्दियामा सोमबार प्रहरीले चलाएको गोली लागि एक किशोरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । 

गृहले मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । 

‘घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा देहाय बमोजिम समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ गृहद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

घिमिरे संयोजक रहेको समितिका सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक वेद कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव बहादुर खड्का रहेका छन् । 

घटनाअनुसार सोमबार विहान ८ः५० बजे बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ सोनाहा बस्ने अन्दाजी वर्ष ४१ की अस्मिता थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते अस्मितालाई उपचारको लागि नेपालगञ्ज तर्फ पठाइएको थियो ।

त्यसपछि बाघको आक्रमण नियन्त्रण गरिनु पर्ने, तारजालीको व्यवस्था हुनु पर्ने लगायतका विभिन्न माग राखी स्थानीयहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले हुलाकी सडक–खण्डमा अवरोध गरेका थिए । 

दिउँसो ३ः४५ बजे बर्दिया राष्ट्रिय निकुञ्जबाट रेजर र सुरक्षाकर्मी सहितको टोली बाघ नियन्त्रणको लागि घटनास्थलतर्फ खटिएको थियो । 

सुरक्षाकर्मीहरुबाट अवरुद्ध राजमार्ग खुलाउनका लागि आवश्यक समन्वय भइरहेको अवस्थामा बेलुका ६ः१५ बजेतिर आक्रोशित भीडले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो । 

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्याँस प्रयोग गर्दा समेत स्थिति नियन्त्रणमा आउन नसकेपछि हवाई फायर खोल्ने क्रममा स्थानीयवासी दुलारे थारुको छोरी नबिना थारुलाई गोली लागेको थियो । घाइते नबिनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । 

घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी २० जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइते एक जना स्थानीयवासीको नेपालगञ्ज नर्सिङ्ग होममा उपचार भइरहेको छ । सोही घटनाको छानबिन गर्न गृहले आजा छानबिन समिति गठन गरेको हो ।