११ बैशाख २०८१, मंगलवार

सार्वजनिक पदमा रहेकाले यौनहिंसा गरे थप दुई वर्ष कैद सजाय हुने व्यवस्था गरौं: गगन थापा

gagan thapa
फाइल फोटो

कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक पदमा रहेका व्यक्तिले यौन हिंसा गरेमा उसलाई थप दुई वर्ष कैद सजाय हुनेगरी कानुन बनाउनुपर्ने सुझाव दिएका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी हुँदै उनले यौन हिंसाको घटनामा सार्वजनिक पद धारण गरेका व्यक्ति दोषी पाइपामा उसलाई थप दुई वर्ष कैद सजाय हुने व्यवस्था गर्नुपर्ने बताए । 

पीडितलाई पीडितले धम्काउने, प्रलोभनमा पार्ने कार्यमा सार्वजनिक पद धारण गरेका व्यक्ति संलग्न भएमा उसलाई दुई वर्ष कैद सजाय हुने व्यवस्था गर्नुपर्ने थापाको सुझाव छ । उक्त विधेयकमा ६ महिना बढी कैद भनिएको भन्दै उनले यसलाई कम्तिमा पनि दुई वर्ष बनाउनुपर्ने बताए ।

उक्त छलफलमा सहभागी सांसदहरुले हद म्याद राख्नुपर्ने र हदम्यादको समय भने बढाइनुपर्ने बताएका छन् । हदम्याद नराख्दा निर्दाेष व्यक्ति फसाउने षड्यन्त्रमा पनि हुन सक्ने भन्दै उनीहरूले हद म्यादसहित यौन हिंसाका विषयमा कडा कानुन बनाउनुपर्ने सुझाव दिएका छन् ।