२० बैशाख २०८१, बिहीबार

सात वर्षदेखि खोरमा थुनिएका शिबराजको उद्धार, अस्पताल पठाइयो

sivraj bika

उपचार खर्च जुटाउन नसकेर ७ वर्षदेखि खोरमा थुनिएका उदयपुरको चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्ते माडिबासका ३७ वर्षीय शिबराज बिश्वकर्माको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उद्धार गरि सोमबार उपचारका लागि पठाएका छन् । मानसिक समस्यामा रहेका उनी ७ वर्षदेखि खोरमा थुनिएका थिए र यसबारे न्युज कारखानाले समाचार पोस्ट गरेको थियो ।

बस्न असज हुने खोर जस्तो स्थानमा अमानवीय रुपमा उनलाई परिवारका सदस्यले बाँधेर राखेका थिए ।

उनलाई नगर प्रमुख कालुमान लामाले घरमै पुगेर सम्पूर्ण उपचार खर्च नगरपालिकाले ब्यहोर्ने गरि नगरपालिकाको एम्बुलेन्समा उपचारका लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएका छन् ।

बिश्वकर्माको उपचारमा लाग्ने सम्र्पूण खर्च नगरपालिकाले ब्यहोर्ने र उपचारमा जाने कुरुवा समेतको खर्च नगरपालिकाले ब्यहोर्ने लामाले बताए ।

बिभिन्न रोगले ग्रसित बिपन्न परिवारका सदस्यहरुलाई नगरपालिकाले निःशुल्क उपचारको ब्यवस्था मिलाउने नगर प्रमुख लामाले बताए । उद्धारका लागि दुई जना नगर प्रहरी, स्वास्थ्यकर्मी सहितको टोलीले बिश्वकर्मालाई खोरबाट निकालेर नुवाईधुवाइ र सरसफाइ गरि एम्बुलेन्समा कोशी अस्पताल बिराटनगर पठाएको थियो ।

उनीसँगै नगरपालिकाका दुई जना नगर प्रहरी र कुरुवाका लागि भाइ अर्जुन बिश्वकर्मा साथै गएका छन् ।

खोरमा नराख्दा अश्लील शब्द बोल्ने र कपडा फुकालेर हिँड्ने गरेपछि बाध्यता बस त्यहाँ राख्नु परेको परिवारका सदस्यको भनाइ थियो ।
उनी रातभरि रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने र केटाकेटीहरुलाई लखेट्ने लगायतको काम गर्थे ।
घरदेखि अलि पर बाँस घारीमा चारैतिर काठले बेरा बारेको माथि जस्ताले छाएको जमिन देखि चार फिट लग्लो खोरमा फटाहा ओछयाएर बनाएको स्थानमा उनलाई थुनेर राखिएको थियो ।

कमाएर ल्याउने छोराको मानसिक सन्तुलन गुमेपछि परिवारमा बिहान बेलुकाको छान टार्नसमेत समस्या परेको उनकी आमा सुमित्रा बिकले बताइन् ।

काठमाडौंमा काम गरेर परिवारलाई समेत भरथेग गरिरहेका उनी २०७२ को भूकम्पछि सम्पर्कविहीन भएका थिए । केही पछि उनलाई चितवनको नारायणी नदी किनाराबाट उद्धार गरिएको थियो । पाटन लगायका अस्पतालमा उपचारपछि औषधि सेवन गरिरहेका बिश्वकर्मालाई आर्थिक अभावमा औषधि खान समस्या परेको थियो । नियमित औषधि खान नपाएपछि उनको अवस्था बिग्रिएको थियो ।