४ जेष्ठ २०८१, शुक्रबार

इन्धनको प्रयोग कम गर्ने विकल्प ‘साइकल’

Bicycle
फाइल फोटो

इन्धनमा भएको मूल्यवृद्धिको मारमा सर्वसाधारण परिरहेका छन् । सार्वजनिक सवारीको भाडा पनि महंगो छ । यस्तो अवस्थामा साइकलको प्रयोग बढाउँदा इन्धन खपत कम हुने मात्र होइन वातावरण प्रदूषण कम गर्नसमेत सहयोग पुग्छ । तर सरकारले साइकल प्रवर्द्धनको नीति नै अबलम्बन गर्न सकेको छैन ।

काठमाडौं उपत्यकामा सवारी साधनको चाप थेगि नसक्नु छ । तिनमा लाग्ने इन्धनको भाउ उस्तै महंगो छ । त्यसमाथि धुलो र धुँवाले वायु प्रदूषण उस्तै छ । यी समस्याबाट मुक्ति पाउन साइकलयात्रा सबैभन्दा उत्तम हो । विश्वमा अनेकौ साइकलमैत्री शहरले विकासको नमुना पनि पेश गरेका छन्। तर, नेपाल सरकारले साइकल प्रवर्द्धनको नीति नै अबलम्बन गर्न सकेको छैन । अगामी आर्थिक वर्षको बजेटमा पनि यस विषयमा सरकार मौन छ ।

साढे २ वर्ष अघि काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले माइतीघरदेखि कोटेश्वरसम्म साइकल लेनको थ्रीडी डिजाइन सार्वजनिक गरेको थियो। तर न त्यसको सदुपयोग भयो न व्यवस्थापन नै। कानुन र बजेट दुवैमा साइकल यात्रीलाई प्राथमिकता नदिइएकाले योजनाहरु कागजमै सीमित हुने गरेका छन् । साइकलमैत्री पूर्वाधार नहुँदा साइकल किन्ने र चलाउनेको संख्या पनि घट्दो छ।

पूर्वाधार नभएकैले हुनसक्छ– इन्धन मूल्यवृद्धिको मर्कामा पर्दा पनि राजधानीवासीमा साइकलप्रति मोह बढेको छैन । व्यवसायिकता, बाध्यता र बिलासिता जे कारणले साइकल चलाए पनि यसका अनेकौं फाइदा छन्। तर सरकारले नै अनुकूल वातावरण नबनाएसम्म साइकलमैत्री वातावरणको विकास हुने देखिँदैन ।