६ जेष्ठ २०८१, आईतवार

भारतबाट फेरि बढेर आयो पेट्रोलको मूल्य, नेपालमा बढ्ला कि घट्ला ?

Nepal Oil Corporation

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ।

नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेको छ भने खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको छ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ।

डिजेल प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको छ।

मंगलबार मात्रै अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घटाएर उद्योग मन्त्रालयलाई पठाएको थियो।

त्यसकारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्ने अपेक्षा थियो। तर, भारतबाट पेट्रोलको मूल्य फेरि बढेर आएपछि अब नेपालमा त्यसको मूल्य बढ्छ वा घट्छ भन्ने चासो सबैमा बढेको छ। मूल्य बढाउने वा घटाउनेबारे उद्योग वाणिज्य मन्त्रालये निर्णय गर्नुपर्नेछ। त्यसपछि आयल निगमले उक्त निर्णय कार्यान्वयन गर्नेछ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार बढाएको भन्दै सरकारको आलोचना भइरहेको छ।