२१ बैशाख २०८१, शुक्रबार

वर्षौँसम्म पाएनन् कालोपत्रेको काममा खटिएका श्रमिकले पारिश्रमिक

mahure phoksingtar road late h photo daman

खोटाङमा सडक कालोपत्रेको काममा खटिएका श्रमिकले पारिश्रमिक नपाएको भन्दै निर्माण कम्पनीको एक्स्काभेटर, ग्रेडर, लोडरलगायतका उपकरण अन्यत्र लैजान रोक लगाएको छ ।

दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत राजापानी (सिमपानी)–फोक्सिङटार सडक कालोपत्रेको काममा श्रम गरिरहेका श्रमिकले लामो समयदेखि पारिश्रमिक नपाएको विरोधमा निर्माण कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको एक्स्काभेटर, ग्रेडर, लोडर लगायतका उपकरण अन्यत्र लैजान रोक लगाएको हो ।

निर्माण कम्पनीले आइतबार निर्माणस्थलबाट एक्स्काभेटर, ग्रेडर, लोडर लगायतका उपकरण अन्यत्र लैजान खोज्दा सडक कालोपत्रेका क्रममा पसिना बगाइरहेका श्रमिक, उधारो सामान दिएका व्यवसायी र घर भाडा दिएका स्थानीयले अवरोध गरेका छन् ।

सडक कालोपत्रेका काममा श्रम गरिरहेका श्रमिक, व्यवसायी र स्थानीयले आइतबार जिल्ला प्रशासन कार्यालयलाई निबेदनमार्फत श्रमिकको पारिश्रमिक, घरभाडा, गाडीभाडा र खाद्यान्नको भुक्तानी चुक्ता नगरेसम्म निर्माण स्थलमा भएका निर्माण सामग्री अन्यत्र लैजान नदिने जानकारी गराएका छन् ।

१२ जना निवेदकका अनुसार निर्माण कम्पनीबाट २०७६ सालदेखि विभिन्न स्थानमा घरभाडा, ज्यामीको पारिश्रमिक, गाडीभाडा र खाद्यान्नको गरी करिब १ करोड ५८ लाख २१ हजार ५९४ रकम भुक्तानी गर्न बाँकी छ ।

निर्माणका क्रममा प्रयोग भइरहेको एक्स्काभेटर, ग्रेडर, लोडर लगायतका सामग्री विभिन्न बहानामा अन्य ठाउँमा लैजान खोजिएको भन्दै उनीहरूले श्रमिकको पारिश्रमिक, घरभाडा, गाडीभाडा र खाद्यान्नको भुक्तानी चुक्ता नगरेसम्म निर्माणस्थलमा भएका सामग्री अन्यत्र लैजान नदिने निवेदन गरेका हुन् । उनीहरूले सडकले छोएको दिप्रुङ चुईचुम्मा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकालाई बोधार्थ पठाएको छ ।

५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ११ साउन २०७३ मा राजापानी (सिमपानी)–फोक्सिङटार (२७ किलोमिटर) खण्डको सम्झौता गरेको थियो । तर, सो खण्डको हालसम्म करिब ६० प्रतिशत मात्र प्रगति भएको छ । कोभिड–१९ को महामारी कारण देखाएर सडक कालोपत्रेको म्याद गत चैतसम्म थप गरिएको थियो ।

महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत माहुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भने भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभी गरिरहेको छ । सो खण्डको काममा पनि चरम ढिलासुस्ती भइरहेको छ ।