६ जेष्ठ २०८१, आईतवार

कोरोना भाइरसः ‘नेपालमा पीसीआर र आरडीटी दुवै विधिबाट परीक्षण गर्ने उपकरणको अभाव’

corona nepal

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पीसीआर र आरडीटी दुवै विधिबाट कोरोनाभाइरसको परीक्षण गर्ने स्वास्थ्य उपकरणहरूको अभाव भएको चेतावनी दिएका छन्।

उपकरण अभावकै कारण कतिपय स्थानमा नमुना सङ्कलन कार्य रोकिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए पनि प्रयोगशाला परीक्षण नरोकिएको जनाइएको छ।

बिहीवारसम्म स्वीस सरकारको सहयोगमा कोभिड-१९ को लक्षण देखिएका व्यक्तिको स्वाब सङ्कलनमा प्रयोग हुने सामग्री र अर्को हप्तासम्म नेपाली सेनामार्फत्‌ चीनबाट खरिद गरिएका अत्यावश्यक स्वास्थ्य सामग्री आइपुग्ने अधिकारीहरूको अपेक्षा छ।

पछिल्लो पटक नेपालगञ्जमा २३ सहित देशभरि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८२ पुग्दा परीक्षणलाई अझ व्यापक विस्तार गराउनुपर्ने विज्ञहरूले जोड दिइरहेका छन्।

उपकरण

मङ्गलवार अपरान्हसम्म पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्‍यापिड डाइअग्नस्टिक टेस्ट (आरडीटी) विधिअन्तर्गत ६६ हजारभन्दा बढीमा कोरोनाभाइरसको परीक्षण गरिएको अधिकारीहरूले जनाएका छन्।

तर स्वास्थ्य मन्त्रालयको जनसङ्ख्या तथा समन्वय महाशाखाका प्रमुख डा. रोशन पोखरेलले आरडीटीका किटको अभाव रहेको र पीसीआर विधि अघि बढाउन स्वास्थ्य सामग्रीको अभाव रहेको बताएका छन्।

उनी भन्छन्, “हामीसँग पीसीआर रिएजेन्ट २० हजार नै छ, तर आरएनए एक्स्ट्रयाक्सन नहुदाँ काम अघि बढ्न नसकेको हो। आरडीटी नयाँ आएकै छैन, तर पुरानो सकियो। अझै एक हजारदेखि दुई हजार पीसीआर परीक्षण गर्न सकिने अवस्था छ। त्यसपछि नयाँ ल्याउनैपर्ने हुन्छ।”

पीसीआर परीक्षण गर्दा भाइरसलाई आकार बढाएर देखाउन आरएनए एक्स्ट्रयाक्सन महत्त्वपूर्ण हुने भन्दै उनले त्यो नहुँदा नमुना सङ्कलन ठप्प हुने बताए।

स्वीस सरकारले आरएनए एक्स्ट्रायकसनसहित उपलब्ध गराएका परीक्षण सामग्री लिन सिङ्गापुर आइपुगेको र त्यसलाई मलेशियाको बाटो भएर पर्सिसम्म नेपाल ल्याउने तयारी भइरहेको डा. पोखरेलले बताए।

पीसीआर परीक्षण विधि जटिल, महँगो र समय लाग्ने भए पनि यसलाई आरडीटीको तुलनामा विश्वसनीय मान्ने गरिन्छ।

पीसीआर विधिमा नतिजा आउन कम्तिमा छ घन्टा लाग्ने तर आरडीटीमा १५ मिनेटमै नमुना प्राप्त हुने बताइन्छ।

नेपालले शंङ्कास्पद व्यक्तिहरू जाँच्न आरडीटी विधि अपनाए पनि सङ्क्रमित भए या नभएको टुङ्गो पीसीआर विधिमार्फत्‌ गरिने प्रयोगशाला विधिबाट लगाउने गरेको छ।

सामग्री अभावकै कारण गत २४ घण्टामा पीसीआर र आरडीटी विधिबाट १५ सयभन्दा केही बढी परीक्षण मात्रै गरिए।

सोमबारको तुलनामा मङ्गलबार दिइएको जानकारीमा पीसीआर विधिबाट त थप केवल २१० जनाको मात्र परीक्षण भएको देखिन्छ।